वीरगञ्जकाे गण्डक अस्पतालमा मृत्यु भएका वृद्धमा काेराेना पुष्टि

 साउन २३, २०७७ शुक्रबार २०:२५:३५ | केसी लामिछाने
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पर्सा – वीरगञ्जकाे नारायणी अस्थायी कोभिड विशेष गण्डक अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ६५ वर्षीय वृद्धकाे गण्डकमा रहेकाे अस्थायी कोभिड अस्पतालमा उपचारकाे क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीय पुरुषको शुक्रबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो  ।

शुक्रबार बिहान मृत्यु भएपछि ती पुरुषको स्वाब सङ्कलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

केही दिनदेखि सामान्य ज्वरो र रुघाखोकी देखिएकाे उहाँमा बिहीबार श्वासप्रश्वासको पनि समस्या देखिएको थियो । बिहीबार दिउसो उहाँलाई वीरगञ्जकाे एडभान्स मेडिकेयर हस्पिटलमा भर्ना गरिएको थियो ।

आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएपछि चिकित्सकले अन्य अस्पतालमा रेफर गरेका थिए  । एडभान्समा कार्यरत कर्मचारीहरुमा कोरोना सङ्क्रमण पाइएपछि इमर्जेन्सीबाहेक अन्य सेवा बन्द भएकोले आईसीयू सेवा अभाव भएको हो ।  

एडभान्सबाट नेशनल मेडिकल कलेजमा लगिएकोमा अस्पतालले भर्ना गर्न नमानेपछि उहाँललाई गण्डक अस्पताल पुर्‍याइएको मृतकका आफन्तले बताएका छन् । नेशनलले उनलाई भर्ना गर्न नमानेपछि वीरगञ्ज ३ का वडाध्यक्ष वैजु स्वर्णकारको पहलमा गण्डक अस्पतालमा भर्ना गरिएको थियो । 

अन्तिम अपडेट: चैत १३, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया