एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

 साउन २४, २०७७ शनिबार ९:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । 

विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार गर्ने काम पनि भइसकेको छ । 

अन्तिम चरणमा पुनः एक पटक परीक्षण भइरहेको बोर्डले जनाएको छ । परीक्षार्थीको नाम, थर, जन्ममिति र नम्बरमा कुनै त्रुटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुुगेको बोर्डका सदस्य दुर्गा अर्यालले जानकारी दिनुभयो ।

यसअघि बोर्डले साउन दोस्रो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने जनाएको थियो । तर कोरोना संक्रमण जोखिम बढेको र प्राविधिक कारण नतिजा प्रकाशनमा ढिला भएको बोर्ड सदस्य अर्यालले बताउनुभयो । 

हतारमा नतिजा सार्वजनिक गर्दा त्रुटि हुनसक्ने र परीक्षार्थीलाई त्रुटि सच्याउन काठमाण्डौ आउन समस्या हुने देखिएकाले पनि केही ढिला भएको उहाँको भनाइ छ । ‘विगतमा जस्तो नतिजाको चासो र हतारो छैन, यसपाली फरक तरिकाले मुल्याङ्कन भएकाले विद्यार्थीलाई पूर्व आँकलन समेत छ’ उहाँले भन्नुभयो,‘प्रमाणीकरण गर्ने काम मात्रै बाँकी हो ।’ 

यसपटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक हुँदैछ । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षाका आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो ।

नतिजा प्रकाशनपछि परीक्षार्थीलाई बोर्डले ग्रेडसिट प्रदान गर्नेछ । माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने उल्लेख छ । यसपाली एसईईमा झण्डै ४ लाख ८२ हजार परीक्षार्थी छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया