बिदामा घर आएका आबुधावी प्रहरीमा कार्यरत ६२ जना नेपालीलाई यूएई सरकारले जहाज चार्टर्ड गरेर काममा फर्कायो

 साउन २४, २०७७ शनिबार १५:५०:४८ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – घरबिदामा नेपाल आएका आबुधावी प्रहरीमा कार्यरत तीन महिलासहित ६२ जना नेपालीलाई यूएई सरकारले निःशुल्क जहाज चार्टर्ड गरेर काममा फर्काएको छ । 

४५ दिनको छुट्टीमा घर आएको अवस्थामा लकडाउनका कारण नेपालमै रोकिएका अबुधावी प्रहरीमा कार्यरत नेपालीलाई आबुधावी प्रहरीले झण्डै चार महिनापछि नि:शुल्क जहाज चार्टर्ड गरी फिर्ता ल्याएको हो ।

आबुधावी प्रहरीमा कार्यरत नेपाली गएको मार्च ८ देखि मे १८ सम्मको छुट्टीमा नेपाल गएका थिए । ६२ जनामध्ये धेरै जसो झण्डै ५ महिना नेपालमै रोकिएका थिए ।

एयरअरेबिया जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सारजहाँ एयरपोर्ट उत्रिएका नेपालीलाई अबुधावी प्रहरीले स्कर्टिङ गर्दै क्याम्पको होम क्वरेण्टीनमा ल्याएर राखेको छ ।

आबुधावी पुगेपछि आफूहरुलाई क्याम्पकै क्वरेण्टीनमा राखेको खोटाङ घर भइ हाल आबुधावी प्रहरीमा कार्यरत हिराधन चाम्लिङले उज्यालोलाई जानकारी दिनुभयो । 

लकडाउनपछि आबुधावी पुगेका आबुधावी प्रहरीमा कार्यरत सम्पूर्णलाई घर बिदाको समेत तलब दिएर फिर्ता बोलाएको फर्किनेमध्ये एक अशोक रायमाझीले बताउनुभयो ।

फर्किने सबैको प्रवेश अनुमति, उडान अनुमति तथा सम्पूर्ण प्रक्रिया आबुधावी प्रहरीले नै गरिदिएको हो ।
 

अन्तिम अपडेट: साउन २६, २०७७

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • चन्द्र राना मगर

    Aug. 25, 2020, 10:30 a.m.

    अब भनौ भने खाली नेपाल सरकारलाई औला ठडायो भन्छन, तर लाटोलाई पनि थाहा भैसक्यो / अब त सुधार गर नेपाल सरकार काम गर्ने परिपाटी, अब त छोड भ्रष्टाचार गर्न. तारीफ गर्नै पर्छ मैले - सरकार र संस्था होस त यस्तो, यूएई सरकारलाई र यूएई पुलिस संस्थालाई म आत्मा देखी नै सम्मान गर्न चाहन्छु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया