काठमाण्डाै उपत्यकामा गाडीको चाप घट्यो

 साउन २४, २०७७ शनिबार १६:८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि सरकारले लागू गरेको जोर विजोर प्रणालीका कारण काठमाण्डाै उपत्यकामा गाडीको चाप घटेको छ ।

जोर विजोर प्रणालीमा गाडी सञ्चालन, सङ्क्रमणको जोखिम बढ्नु र अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका कारण गाडीको चाप कम देखिएको हो । पछिल्लो केही दिन यता उपत्यकामा सङ्क्रमणको दर बढ्न थालेपछि सरकारले गाडी सञ्चालनमा जोर विजोर प्रणाली शुरु गरेको थियो ।

हिजोमात्रै उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता नविकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण लगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन् ।

प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि आग्रह गरेको छ । असार २६ गतेदेखि उपत्यका लगायत देशभरि जिल्ला भित्र मात्रै गाडी सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया