सरकारले ताेक्याे 'होम आइसोलेशन'मा बस्न चाहनेका लागि मापदण्ड

 साउन २४, २०७७ शनिबार १९:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले होम आइसोलेशनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । 

कुनै सङ्क्रमित व्यक्ति आफू घरमै आइसोलेशनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो । होम आइसोलेसनमा सङ्क्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभर आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने छ ।

यस्तै आफूले प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शाैचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

सामुहिक रुपमा शाैचालयको प्रयोग गर्नुपर्ने अवस्थामा सङ्क्रमितले राम्रोसँग प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ । यस्तै दाँत माझ्ने ब्रस लगायतका सामानहरु बेसिन बाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबल लगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानहरु समय समयमा डिसइन्फेक्सन गर्ने, भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

सङ्क्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले बढी जोखिममा रहने समूह (दीर्घ रोगी, ६० वर्षमाथिका जेष्ठ नागरिक, गर्भवती र सुत्केरी महिला) लाई टाढा राख्नुपर्ने बताउनुभयो ।

यस्तै दिनमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो । सङ्क्रमितलाई स्वास प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार नीलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो ।

स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले दिनमा कम्तिमा दुई पटक सङ्क्रमितको स्वास्थ्य अवस्थका बारेमा जानकारी दिनुपर्ने छ । हरेक स्थानीय तहले ५० जना सङ्क्रमितका लागि १ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्यकर्मी वा नर्सले एक जना बिरामी हेरे बापत दिनको २ सय रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया