कोरोना निको भएकाहरुमा अरु रोगको जोखिम कस्तो हुन्छ ?

 साउन २५, २०७७ आइतबार ८:१३:५५ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - चीनको वुहानमा कोरोना सङ्क्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो अझै निको नभएको रिपोर्ट केही दिनअघि सार्वजनिक भएको भयो । 

यस्तै निको भएका ५ प्रतिशत सङ्क्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि क्वरेण्टीनमा राखिएको छ । सङ्क्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्तर्गतको झोंगनान अस्पतालका निर्देशक पेंग जियोंगको टोलीले गरेको नमुना अनुसन्धानमा यस्तो देखिएको हो । 

यस्तै केही समय अगाडि दक्षिण कोरियामा पनि कोरोना पोजेटिभ देखिएकाहरुमा लामो समय फोक्सोमा समस्या भएको खबर सार्वजनिक भएको थियो । कोरिया र चीनका केही मानिसमा निको भइसकेपछि पोजिटिभ देखिएको र फोक्सोमा समस्या भएको खबर सार्वजनिक भएपछि नेपालमा पनि यसबारे चर्चा सुरु भएको छ । विज्ञहरु भने नेपालमा अहिलेसम्म यसबारे अध्ययन नै हुन नसकेको बताउँछन् । 

सङ्क्रामक रोग विषेशज्ञ डाक्टर अनुप सुवेदी भन्नुहुन्छ, ‘नेपालमा यसबारे विस्तृत अध्ययन नै हुन सकेको छैन । तर कोरोना सङ्क्रमण निको भएर फर्किसकेपछि पनि फोक्सोमा समस्या देखिने कुरामा भने  सत्यता हुन सक्छ ।’  
कोरोना सङ्क्रमित निको भइसकेपछि पनि लामो समय फोक्सोमा समस्या देखिन सक्छ ।  सामान्य लक्षण देखिएकोमा नभए पनि गम्भीर बिरामीमा भने त्यस्तो समस्या हुन सक्ने उहाँ बताउनुहुन्छ ।

कसैको फोक्सोमा लामो समय दागहरु रहिरहन सक्छ ।  कसैमा फोक्सो सम्बन्धी दीर्घरोग नै पनि हुन सक्छ । कतिपयमा भने मानसिक तनाव, जीउ दुख्नेलगायतका समस्या पनि केही हप्तासम्म रहिरहन सक्छ । तर सङ्क्रमित सबैमा त्यो समस्या भने नहुने उहाँको भनाइ छ । सुवेदी थप्नुहुन्छ, ‘कसैलाई दीर्घकालसम्म, कसैलाई केही हप्ता र कसैलाई भने नहुन सक्छ ।’

नेपालमै पनि कतिपय व्यक्तिमा कोरोना नेगेटिभ देखिएको एक दुई हप्तापछि पोजेटिभ देखिने गरेको छ । तर त्यसलाई भाइरस सक्रिय भएको हो भनेर भन्न नमिल्ने डाक्टर सुवेदीको भनाइ छ । भाइरसको केही अंश रहे पनि त्यो निस्क्रिय हुने उहाँ बताउनुहुन्छ  ।  

क्षयरोग निको भइसकेको मानिसमा ६ महिनापछि परीक्षण गर्दा कहिलेकाहीँ पीसीआर पोजेटिभ पनि आउने गरेको भन्दै उहाँले पीसीआर आफैंमा रोगको सूचक नभएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीर अधिकारी कोरोना सङ्क्रमित निको भएपछि अरु स्वास्थ्य समस्या खासै नदेखिएको बताउनुहुन्छ । तर औपचारिक रुपमा अध्ययन नभएकाले यसै भन्न नसक्ने उहाँले बताउनुभयो ।

नयाँ रोग भएकाले निको भएकोमा फेरि सङ्क्रमण हुने सम्भावना कति छ, अरुमा सार्ने सम्भावना कस्तो हुन्छ र उनीहरुमा फोक्सोमा नै खराबी भएको हो या होइन अथवा अरु खालका स्वास्थ्य समस्या छ कि भनेर अनुसन्धान नभएको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘यही थाहा पाउनका लागि नै स्वास्थ्य मन्त्रालयले  निको भएर घरमा गएपछि पनि एक हप्ता तथा १० दिनमा फलोअपका लागि जानुपर्छ भनेको ।  तर कति जान्छन्, कति जाँदैनन् ।  अहिलेसम्मको अनुभवमा नेपालमा अरु समस्या खासै देखिएको छैन ।’ उहाँ थप्नुहुन्छ, ‘सङ्क्रमितहरुमा मानसिक समस्या भने धेरै देखिएको छ । उपचारपछि निको भएर फर्किएकाहरुसँग कुराकानी गर्दा उनीहरुले आफूलाई तनाव हुने गरेको बताएका छन् ।’ 

कोरोना सङ्क्रमितलाई समाजले हेर्ने दृष्टिकोण अर्कै रहेकाले पनि उनीहरुमा तनाव देखिएको डाक्टर अधिकारी बताउनुहुन्छ । कोरोना भाइरस जतिसुकै बेला जो कोहीलाई पनि हुन सक्ने भएकाले आफूलाई कहिल्यै रोग नै नलाग्ने जस्तो गरी सङ्क्रमितलाई अपमान नगर्न उहाँको आग्रह छ ।

सङ्क्रमित लामो समयको तनाव र चिन्तापछि बल्ल कोरोनालाई जितेर घर फर्किँदा घर परिवार र समाजले झन् चिन्ता थपिदिए भने अरु रोगको जोखिम हुन सक्ने उहाँको भनाइ छ । समाजका अरु मानिसले म पनि कोरोना सङ्क्रमित हुन सक्छु, अरुलाई अपमान गर्न हुँदैन भन्ने सोचेर त्यही अनुसारको व्यवहार गरेमा भने अरु रोगको जोखिम कम हुने उहाँ बताउनुहुन्छ ।

यस्तै सङ्क्रमितले पनि मलाई मात्र होइन विश्वका धेरै मानिसलाई यस्तै भएको हो भनेर सकारात्मक सोच्नुपर्छ र आत्मबल बढाउनुपर्छ । कोरोनालाई जितेर घर फर्किँदा मलाई मेरो परिवार र समाजले गलत व्यवहार गर्न सक्छन्, मैले तनाव लिनु हुँदैन, बरु सम्झाउनुपर्छ भनेर उच्च मनोबल बनाएमा अरु रोगको जोखिम कम हुने डाक्टर अधिकारीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया