'प्रधानमन्त्रीको निर्देशनअनुसार अयोध्याधामको काम आजैदेखि सुरु गर्छौं'

 साउन २५, २०७७ आइतबार ११:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बेलुकी चितवन माडी नगरपालिकाका जनप्रतिनिधिसँग अयोध्याधाम र चेपाङ बस्तीको विषयमा छलफल गर्नुभयो । 

माडीका मेयर ठाकुर ढकाल, उपमेयर ताराकुमारी काजी महतोसहितको टोली छलफलपछि राति नै काठमाण्डौबाट चितवन फर्किएको छ । उपमेयर महतोले भन्नुभयो, ‘हामी फर्किसक्यौँ, अब प्रधानमन्त्रीको निर्देशनअनुसार अयोध्याधामको काम आजैदेखि सुरु गर्छौँ ।’

छलफलमा के भयो ?

उपमेयर महतोकाअनुसार टोली मुख्य दुईवटा विषय लिएर आएको थियो । पहिलो अयोध्या र दोस्रो चेपाङ बस्ती । बालुवाटारमा छलफलको मुख्य विषय भगवान् श्रीरामको जन्मभूमि र यसको ठोस प्रमाण तथा अध्ययन अनुसन्धानबारे केन्द्रीत भयो । 

प्रधानमन्त्री ओलीले बृहत् गुरुयोजना नै बनाएर माडीमा अयोध्याधामको काम तत्काल सुरु गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले भगवान् रामको जन्मभूमि अयोध्या नेपालमै रहेको दोहोर्याउँदै जनप्रतिनिधिलाई चितवनको माडीमा बृहत् धार्मिक मेला लगाउन तथा राम, सीता र लक्ष्मण विशाल मूर्ति स्थापना गर्न सुझाउनुभएको छ । 

श्रीरामको जन्मस्थल अयोध्याधामको काम सुरु गर्न ढिलो भैसकेको भन्दै उहाँले जनप्रतिनिधिलाई तत्काल काम थालिहाल्न निर्देशन दिनुभएको हो । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा रामको जन्मभूमि माडीको अयोध्यापुरीमै भएको भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माण लगायतका काममा सरकारको तर्फबाट पनि सहयोग उपलब्ध हुने बताउनुभएको उपमेयर महतोले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीले थप ठोस प्रमाणहरु जुटाउँदै जान र योजना बनाएर काम सुरु गर्न पनि सुझाउनुभएको छ । माडी नगरपालिकाले अयोध्या खोज, अनुशन्धान तथा व्यवस्थापन गर्न नारदमणि पौडेलको संयोजकत्वमा समिति नै गठन गरिसकेको छ ।

अब काममा ढिला हुँदैन : उपमेयर महतो

प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम सुरु गरिहाल्न गरेको आग्रहअनुसार अब काम अगाडि बढाउन ढिला नहुने उपमेयर महतोले बताउनुभएको छ । 

‘प्रधानमन्त्रीज्यूले माडी क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुस् भन्नुभएको छ’ उपमेयर महतोले भन्नुभयो,‘विसं २०७८ सालको दशैँमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन छ ।’ 

उहाँकाअनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी अर्को वर्षको रामनवमी भव्यताका साथ मनाउने बताउनुभएको थियो । यसअघि प्रधानमन्त्री ओलीले भानुजयन्तीका अवसरमा असार २९ गते बालुवाटारमै रामको जन्म नेपालकै ठोरी वरिपरि भएको अभिव्यक्ति दिनुभएको थियो ।

त्यसपछि राम जन्मभूमिकोबारेमा नेपाल सहित छिमेकी भारतमा पनि चर्चा हुँदै आएको छ । रामको जन्मभूमि नेपालकै माडीमा दाबी गर्दै आएका लोकमणि पौडेल पनि शनिबारको बैठकमा सहभागी हुनुभएको थियो । छलफलमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।

पर्साको ठोरी र माडी जोडेर एकीकृत विकास गर्ने लक्ष्य

माडी क्षेत्रमा सोमेश्वर, कालिका, त्रिवेणीधाम, वाल्मीकि आश्रम, गोद्धक, पर्शुराम कुण्ड, पाण्डवनगर, बैकुण्ठेश्वरधाम, महादेव मन्दिर, सीता गुफा, विक्रम बाबालगायत धार्मिक महत्व बोकेका पर्यटकीयस्थल रहेका छन् । यसअघि प्रधानमन्त्रीले चर्चा गरेको पर्साको ठोरी र चितवनको माडी सीमा जोडिएका क्षेत्र हुन् । 

चितवनको तत्कालीन अयोध्यापुरी गाविससहित ४ वटा गाविस गाभेर माडी नगरपालिका बनाइएको हो । गर्दी, बघौँडा, कल्याणपुर र अयोध्यापुरी साविकका गाविस हुन् । समितिका संयोजक पौडेल तत्कालीन अयोध्यापुरी गाविसको अध्यक्ष समेत हुनुहुन्थ्यो । 

अयोध्यापुरी गाविस माडी नगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्छ । माडी नगरपालिका १ मा वाल्मीकि ऋषिको आश्रमपछि छ । माडी पूर्वमा पर्सा, उत्तर र पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणतर्फ भारतको विहार पर्छन् । 

प्रधानमन्त्रीले माडी नगरपालिकालाई मिल्छ भने अयोध्या नगरपालिका नाम राख्न समेत सुझाउनु भएको छ ।

‘उहाँले आफूले हजारौँ वर्ष अगाडिको प्रमाण, रामायण, वेद, पुराण अध्ययन गरेरै राम जन्मभूमि माडीमा भनेको हुँ’ उपमेयर महतोले भन्नुभयो,‘प्रधानमन्त्रीले पालिकाको नाम नै अयोध्या राख्दा कसो होला भन्नुभएको छ,  हामीले सबैको सहमति जुटाउनुपर्ने हुन्छ भनेका छौँ ।’ 

पर्साको ठोरीमा सीता गुफा छ, अयोध्यापुरीमा रामसीता गुफा रहेको र यो एउटै करिडोरमा पर्ने पनि उपमेयर महतोले बताउनुभयो । ‘वाल्मीकि आश्रम नगरपालिकाको वडा १ मा पर्छ तर उचित संरक्षण र प्रचार हुन नसक्दा ओझेलमा परेको छ । आश्रम जाने बाटो छैन, त्यो मध्यवर्ती निकुञ्ज क्षेत्रमा पर्छ । ठोरी र माडी जोडेर एकिकृत विकास गर्ने लक्ष्य राखेका छौं’ उहाँले भन्नुभयो ।

गोद्धक क्षेत्र र रामनवमी मेला

माडी नगरपालिका १ र ३ अन्तर्गत पर्ने गोद्धक क्षेत्र पुग्न माडी हुलाकी सडकखण्ड अन्तर्गतको सेरुवाबाट झण्डै तीन किलोमिटर पश्चिम लाग्नुपर्छ । गोद्धक क्षेत्रमा द्रौपदी कुण्ड, परशुराम कुण्ड, शिवपार्वतीका लिङ्गलगायत रहेका छन् ।

त्यहाँ परापूर्वकालदेखि थारु आदिवासी बसोबास गर्दै आएको मानिन्छ । विगतमा रामनवमीमा झण्डै १ महिना मेला लाग्ने गर्थ्यो । त्यसपछि १५ दिन हुँदै अहिले ३/४ दिन मात्रै मेला लाग्ने गरेको उपमेयर महतोले बताउनुभयो । उहाँकाअनुसार पहिला १ महिनासम्म नै मेला लाग्ने गरेकाले कुनै न कुनै रुपमा रामसँग जोडिएको क्षेत्र मान्न सकिन्छ । 

तर राम जन्मभूमि नै हो भन्न सक्ने आधार अझै भेटिएको छैन । गोद्धक क्षेत्रलाई वाल्मीकि आश्रमदेखि देवघाटधामसम्म जोडेर पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना भने रहेको उहाँले बताउनुभयो ।

राममन्दिर बनाउन ठाउँ किटान गरिने

प्रधानमन्त्रीको निर्देशन अनुसार नै राममन्दिर बनाउन नगरपालिकाले ठाउँ किटान गर्ने भएको छ । ‘अहिलेको वाल्मीकि आश्रममा राममन्दिर बनाउन सक्ने अवस्था छैन’ उपमेयर महतोले भन्नुभयो,‘अलि धेरै ठाउँ चाहिने भएकाले पहिला त ठाउँ नै किटान गर्नुपर्नेछ । प्रधानमन्त्रीले तपाईँहरु योजना बनाउनुस् मैले राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्न पहल गर्छु भन्नुभएको छ ।’ 

‘प्रधानमन्त्रीले नै पहल गरे पनि नगरपालिका र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्छ’ उपमेयर महतोले भन्नुभयो,‘मध्यवर्ती क्षेत्र भएकाले काम गर्न केहि असहज छ । जग्गा उपयोग गर्न अप्ठ्यारो छ । निकुञ्जको पनि सहमति चाहिन्छ । त्यसबारे आफूहरुले राखेको चासोमा प्रधानमन्त्रीले निकुञ्जको संरक्षण गर्नुपर्छ, त्यो सँगै धार्मिक महत्वको पनि संरक्षण गर्नुपर्ने भएकाले पहलकदमी गर्ने आश्वासन दिनुभएको छ ।’

चेपाङ बस्तीमा टिनको छानोसहितको सुरक्षित आवासको काम फुकाउन आग्रह

वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गर्नुपर्ने मागलाई सकारात्मक रूपमा लिएको र आवश्यक निर्णय गर्ने प्रधानमन्त्रीले आश्वासन दिलाउनुभएको उपमेयर महतोले जानकारी दिनुभयो । 

त्यस्तै दोस्रो विषय चेपाङ समुदायको घर निर्माणबारे पनि छलफल भएको थियो । केहीदिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको भन्दै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन पनि जनप्रतिनिधिले प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् ।

चेपाङबस्तीमा टिनको छानोसहित सुरक्षित आवासको काम रोकिएको छ । यसलाई छिटो फुकाउन जनप्रतिनिधिले अनुरोध गरेका छन् । जवाफमा प्रधानमन्त्रीले वन तथा वातावरण मन्त्रालय र निकुञ्ज कार्यालयलाई आवश्यक निर्देशन दिने बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया