सलहको झुण्ड म्याग्दी, गुल्मी र पाल्पाका केही ठाउँमा सक्रिय

 साउन २५, २०७७ आइतबार ११:५८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सलहको केही झुण्ड म्याग्दी, गुल्मी र पाल्पाका केही ठाउँमा सक्रिय भएका छन् ।

यी ठाउँमा लगाइएका धान, मकै र केराको बोटमा सामान्य नोक्सानी गरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । 

पश्चिम म्याग्दीमा तुलनात्मक रुपमा बढी नोक्सानी गरेको छ । तर क्षतिको विवरण भने आइसकेको छैन । मालिका, मङ्गला र बेनी नगरपालिकाको केही ठाउँमा सलहले नोक्सानी गरेको छ । तीन दिन अगाडि बझाङ र पर्वतमा देखिएको सलहको झुण्ड फेरि म्याग्दी, गुल्मी र पाल्पामा देखिएको हो । 

हिजोअस्ति घाम लागेकाले सलह सक्रिय भएका हुनसक्ने उहाँले बताउनुभयो । तर आजदेखि पानी पर्ने क्रम बढेकाले र थोरैको संख्यामा भएकाले धेरै नोक्सानी गर्ने सम्भावना छैन । नेपालमा भएका सलह पनि मर्दै गएका र सीमावर्ती क्षेत्रबाट तत्काल आउने सम्भावना नभएकाले किसानलाई नआत्तिन उहाँले आग्रह गर्नुभएको छ । 

थोरैको संख्यामा मात्रै भएकाले टिन, थाल ठटाउनुका साथै ठूलो ध्वनी निकालेर भगाउन पनि सुवेदीले आग्रह गर्नुभएको छ । पानी परेको बेला निस्क्रिय भएर जंगलमा बसेका झुण्ड अलिअलि घाम लागेकाले फेरि सक्रिय भएको हुन सक्ने सुवेदीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया