राजधानी घोषणाको २ वर्षपछि सुदूरपश्चिम सरकारले जग्गा प्राप्तिको प्रक्रिया थाल्दै

 साउन २५, २०७७ आइतबार २०:५५:५० | सीताराम ओझा
unn.prixa.net

धनगढी – कैलालीको गोदावरीमा सुदूरपश्चिमको राजधानी घोषणा भएको झण्डै दुई वर्षपछि जग्गाको भोगाधिकार प्राप्तिका लागि प्रक्रिया थाल्ने निर्णय भएको छ ।

प्रदेश राजधानी पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहनु भएका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थापना गर्न आवश्यक पर्ने जग्गाको भोगाधिकार प्राप्तिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

सङ्घीय सरकारबाट जग्गाको भोगाधिकार प्राप्तिका लागि काम कारबाही अगाडि बढाउने निर्णय भएको प्रदेश राजधानी पूर्वाधार निर्माण परियोजनाका कार्यकारी निर्देशक हेमराज विष्टले जानकारी दिनुभयो । यस्तै बैठकले राजधानी निर्माणको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनकाे कामसमेत अगाडि बढाउने निर्णय गरेको कार्यकारी निर्देशक विष्टले बताउनुभयो ।

यसअघि २०७५ साल असोज १२ गते प्रदेश सभाबाट दुई तिहाइ बहुमतले कैलालीको गोदावरी जङ्गलमा राजधानी बनाउने निर्णय भएको थियो । तर अहिलेसम्म प्रदेश सरकारले जग्गाको भोगाधिकारसमेत पाएको छैन । 
प्रदेश सभाकाे बहुमतले पारित गरेको निर्णयअनुसार प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा राख्नका लागि तेघरी सामुदायिक वनको तीन सय ४१ हेक्टर क्षेत्रफल आवश्यक देखिएको छ । राजधानी तोकिएको क्षेत्र तेघरी सामुदायिक वन पर्छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया