२६ वटा सडकखण्ड अझै बन्द, ६० वटा एकतर्फी सञ्चालन

 साउन २६, २०७७ सोमबार ८:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पहिरोका कारण भालुबाङ-रोल्पा सडकखण्ड अवरुद्ध भएको छ । 

प्युठानको सरुमारानी गाउँपालिका-४ पाकुरीखोला अँधेरीखोला र खहरे खोलामा आज बिहान पहिरो खसेपछि यो सडकखण्ड बन्द भएको हो । 

सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यसैबीच बाढी पहिरोका कारण यसअघि अवरुद्ध भएका २६ वटा सडकखण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् ।

६० वटा सडकखण्ड भने एकतर्फी रुपमा आलोपालो गरी सञ्चालन भइरहेका छन् । साँफेबगर-मार्तडी सडकखण्ड बन्द भएको आज एक महिना पुगेको छ । बुढीगङ्गा नदीले कटान गरेपछि गएको असार २६ गतेदेखि यो सडकखण्ड अवरुद्ध  भएको हो । 

पहिरोका कारण अवरुद्ध भएको बेनी–जोमसोम–कोरोला सडकखण्ड सञ्चालनमा नआएको पनि एक महिना पुगेको छ । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड पनि गएको असार २६ गतेदेखि नै अवरुद्ध भएको हो ।

 यो सडकखण्डको अम्कोट–ताप्रीसेरा–घट्टेखोला लगायतका ठाउँमा पहिरो गएको छ । कान्ति लोकपथ अन्तर्गत शिलालेख छपेली सडकखण्ड अवरुद्ध भएको पनि एक महिना हुनै लागेको छ । गएको असार ३० गते घट्टेपख र बाघधारामा पहिरो जाँदा यो सडकखण्ड बन्द भएको थियो ।

साउन ४ गतेदेखि बेनी–जोमसोम–कोरोला सडकखण्ड अन्तर्गतको नच्र्यागं–रुप्से–खहरेखोला–काइकुखोला–घासा–लेते सडकखण्ड अवरुद्ध छ । ठाउँ–ठाउँमा पहिरो जाँदा र सडक भासिँदा यी सडकखण्ड अवरुद्ध भएका हुन् ।

महाकाली राजमार्ग अन्तर्गत सतबाँझ–दार्चुला सडकखण्ड पनि सञ्चालनमा आएको छैन । साउन ६ गतेदेखि यो सडकखण्ड पनि ठप्प नै छ । यस्तै कक्रहवा-रुद्रपुर-सालझण्डी-सन्धिखर्क ढोरपाटन सडकखण्ड पनि साउन १ गतेदेखि बन्द छ ।

अरनिको राजमार्ग अन्तर्गत झ्याले- बुल्कोट सडकखण्ड ६ दिनदेखि बन्द छ । लामो समय बन्द भएर २, ४ दिन सञ्चालनमा आएको यो सडकखण्ड साउन २० गते सडक भासिएपछि फेरि बन्द भएको हो । सत्ती-भजनी-धनगढी सडकखण्ड पनि अवरुद्व छ ।

यो सडकखण्डको कृष्णनगर र सोनापफाटामा बाढीले सडक बगाउँदा साउन १४ देखि बन्द भएको हो । यी सडकखण्ड खुलाउन पहल भैरहेको तर अझै कति समय लाग्छ भन्ने यकिन नभएको सडक विभागले जनाएको छ ।
देशभर कुन सडकको अवस्था के छ ? यहाँ हेर्नुहोस् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया