इम्बाेस्ड नम्बर प्लेट सबै गाडीले लिन पर्ने, जडानका लागि अनलाइनबाटै आवेदन दिन सकिने

 साउन २६, २०७७ सोमबार २०:२९:५१ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डौं - सरकारले इम्बोस्ड नम्बर प्लेट वितरण गरिरहेको छ । यातायात व्यवस्था विभागले तत्कालका लागि वाग्मती प्रदेशमा दर्ता रहेका सबै प्रकारका गाडीलाई इम्बोस्ड नम्बर प्लेट दिइरहेको हो ।

इम्बोस्ड प्लेटको विरुद्धमा परेको रिट खारेजीको निर्णय सर्वोच्चले खारेज गरेपछि साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट वितरण सुरु भएको थियो । गएको मङ्सिरमा सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी अक्षरमा नै राख्न सक्ने फैसला गरेपछि दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट लगाउनको लागि बाटो खुलेको हो । अब सबै दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेटका रुपमा इम्बोस्ड प्लेट देशभरका सबै गाडीमा राख्ने योजनअनुसार यो प्रक्रिया अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गाडी र गाडी धनीको विवरणका साथै राजस्व असुलीको अवस्थाको बारेमा तत्काल जानकारी लिइ गाडीसँग सम्बन्धित अपराध नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले यो नम्बर प्लेट जडान सुरु गरिएको हो ।

अहिले काठमाण्डाै उपत्यकाका चार वटा यातायात कार्यालयबाट वितरण थालिएको छ । केही वर्षभित्रै सातै प्रदेशमा दर्ता भएको सबै किसिमका गाडीमा इम्बोस्ड प्लेट राखेर व्यवस्थित गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

कसरी लिने इम्बोस्ड नम्बर प्लेट ?

यातायात व्यवस्था विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट लिन गाडीको राजस्व अनिवार्य तिरेको हुनुपर्छ । नम्बर प्लेट जडानका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । अनलाइन आवेदनका आधारमा इम्बोस्ड प्लेट छपाइ हुनेछ । आवश्यक राजस्व तिरेको प्रमाणसहित एकान्तकुना, मीनभवन, टेकु र गुर्जुधाराको यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट बुझ्न सकिने छ ।

इम्बोस्ड नम्बर प्लेट राख्न लाग्ने खर्च

इम्बोस्ड नम्बर प्लेटको लागि मोटरसाइकल तथा स्कुटरलाई दुई हजार पाँच सय रुपैयाँ, टेम्पोलगायत तीन पाङ्ग्रे गाडीको लागि दुई हजार नौ सय रुपैयाँ तोकिएको छ । त्यस्तै साना मझौला जीप, कार र भ्यानको लागि तीन हजार दुई सय रुपैयाँ र त्यसभन्दा माथिका गाडीमा तीन हजार ६ सय रुपैयाँ लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

कुन गाडीलाई कस्तो नम्बर प्लेट ?

ठेकेदार कम्पनी टाइगर डेकाटुरले इम्बोस्ड नम्बर प्लेट छाप्ने काम गरिरहेको छ । सरकारले राष्ट्रपतिको गाडीलाई निसान छापसहितको नम्बर दिएको छ । सरकारी र संस्थानका गाडीलाई सेतो प्लेटमा रातो नम्बर छ भने कुटनीतिक गाडीको हकमा सेतो प्लेटमा नीलो नम्बर छ । निजी गाडीलाई सेतो प्लेट र भाडाका गाडीलाई पहेँलो प्लेटमा कालो नम्बर राख्ने व्यवस्था गरिएको छ ।

इम्बोस्ड नम्बर प्लेट जडान समयसीमा अनिश्चित

सरकारले इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने र गाडीमा कहिलेसम्म यो नम्बर प्लेट जडान गरिसक्नुपर्ने भनी समयसीमा तोकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन सङ्ख्याका आधारमा समयसीमा तोकिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । नम्बर प्लेट लिनका लागि आवेदन नआएमा मात्र निश्चित समयसम्म नम्बर प्लेट लिनुपर्ने भनी तोकिने उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

1 Comments

  • Indraman khatri

    Aug. 10, 2020, 11:24 p.m.

    म यो नम्बर नेपालीमा पाए मात्र लिन्छु नत्र लिँदिन ,

  •  0 Reply

तपाईको प्रतिक्रिया