काेराेना नियन्त्रण गर्न सरकार असफल भयाे, आफै सुरक्षित रहाैँ : कांग्रेस

 साउन २६, २०७७ सोमबार १७:५४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएकोले जनतालाई आफै सुरक्षित रहन आग्रह गरेको छ । 

कांग्रेसकाे काेभिड–१९ सम्बन्धी अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरु पूर्णरुपमा असफल भएकाले जनतालाई आफै सुरक्षित राख्न आग्रह गरेको हो । कांग्रेस पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक प्रकाशशरण महतले सरकारले सुरक्षित गर्छ भन्ने सोचेर नबस्न सबैमा आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले गर्ला र हामी सुरक्षित हौँला भनेर नबसौँ । आफूले आफैलाई सुरक्षित गर्नुपर्‍याे । आफैलाई सुरक्षित हुने तरिका खोज्नुपर्‍याे । आफ्नो सहपाठी, साथीभाइ, टोल छिमेकलाई सुरक्षित रहन र सचेतना अभियानलाई अगाडि बढाउन सबैलाई आह्वान गर्छाैँ ।’ महतले मास्क लगाउन, भौतिक दुरी अनिवार्य रुपमा कायम गर्न, स्यानिटाइजर प्रयोग गर्न र अनावश्यक बाहिर हिँडडुल नगर्न पनि सबैमा आग्रह गर्नुभयो ।

उहाँले सरकारलाई तत्काल कोभिड नियन्त्रणको जिम्मेवारी प्रभावकारी नेतृत्वलाई दिन पनि आग्रह गर्नुभयो । सरकारले स्वास्थ्य मन्त्रालयमा योग्यता, वरिष्ठता र व्यावसायिकतालाई बेवास्ता गर्दा नेतृत्व प्रभावकारी नदेखिएको उल्लेख गर्दै उहाँले वरिष्ठता र व्यावसायिकताका आधारमा मन्त्रालयमा जिम्मेवारी दिन आग्रह गर्नुभयो ।

समितिले आवश्यक सङ्ख्यामा भेन्टिलेटर, अस्पताल बेड, आईसीयू कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । स्वास्थ्यकर्मी र संलग्न सहयोगीहरुको हौसला कायम राख्न कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्था गर्न पनि समितिले सरकारसँग माग गरेको छ ।

लकडाउन खुला भए पनि आर्थिक, सामाजिक क्षेत्रहरु पूर्णरुपमा सुरु हुने अवस्था नरहेकाले यी क्षेत्रमा जोखिम कम गर्न सरकार गम्भीर हुन समितिले आग्रह गरेको उहाँले बताउनुभयो । सीमा प्रवेशमा कडाइ गर्नुपर्ने, सम्भावित सङ्क्रमित ठाउँको सघन अनुगमनका आधारमा परीक्षणको दायरा व्यापक बनाउनुपर्ने माग पनि कांग्रेसले गरेको छ ।

पूर्ण लकडाउन देशले धान्न सक्ने अवस्था नभएकाले परीक्षणको नतिजाको आधारमा सङ्क्रमित देखिएका ठाउँमा लकडाउन र आइसोलेशनको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । खाडी देशमा रोजगारी गुमाएर भिसा अवधि सकिएकालाई तत्काल स्वदेश फिर्ता गर्न र आर्थिक अभावमा रहेका नागरिकलाई सहयोग गर्न सम्बन्धित कुटनीतिक निकायलाई परिचालन गर्न पनि समितिले माग गरेको छ ।    

यस्तो कांग्रेसको सुझाव –


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया