कांग्रेस पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलको यस्ताे छ दृष्टिकोण

 साउन २६, २०७७ सोमबार २०:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीकाे पुनर्जागरणका लागि भन्दै सात बुँदे दृष्टिकोण अगाडि सार्नुभएकाे छ । 

वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमार्फत 'कांग्रेसलाई पुनर्जीवन दिने' सात बुँदे दृष्टिकोण अगाडि सार्नुभएकाे हाे । 

नेपाली कांग्रेसको पुनर्जागरण : मेरो दृष्टिकोण

रामचन्द्र पौडेल

१. पार्टीमा नवजीवन –
'निमुखालाई न्याय र विपन्नलाई आय' साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद्, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी मूल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार ।

२. लोकतान्त्रिक समाजवाद – उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन । युवा–केन्द्रित रोजगारी सिर्जना । श्रमको सम्मान गर्ने संस्कृति । एकीकृत सामाजिक सुरक्षा । सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र । जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य । मानवीय न्याय, स्वतन्त्रता, मानवीय खुसी र सुखी समाजवादका अन्तिम लक्ष्य ।

३. समुन्नतिका आधार –
प्रविधि प्रयोगी दक्ष नागरिक । स्वच्छ ऊर्जा । उच्च उत्पादकत्वसहितको रोजगारमुखी कृषि । बहुआयामिक वातावरणमैत्री पर्यटन । प्रतिस्पर्धी बजारसँग गाँसिएको उद्योग–व्यवसाय । दुरी र लागत घटाउने पूर्वाधार ।

४. हाम्रो बसोबास –
स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको सञ्जाल । स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान । नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण ।

५. व्यवस्थाको प्रश्न –
सत्तरी वर्षको सङ्घर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना । मौलिक हक र विधिको शासनको प्रत्याभूति । भ्रष्टाचारविरुद्ध कठोर सङ्घीय सुशासन । बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति ।

६. सामाजिक–धार्मिक सद्भाव – समाजका हरेक समूहबीच सहकार्य । सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण । सामाजिक पुँजीको जगमा सामुदायिक विकास ।

७. परराष्ट्र सम्बन्ध –
नेपालको अखण्डता र स्वाभिमानको रक्षा । बलियो अर्थ–कुटनीतिक अभ्यास । भाइचारामा आधारित असंलग्न नीति । विभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवर्द्धन । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया