वर्षाका कारण अवरुद्ध सडक खुलाउन समस्या, १९ सडकखण्ड अझै सञ्चालनमा आएनन्

 साउन २८, २०७७ बुधबार ७:४३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार परिरहेकाे पानीका कारण अवरुद्ध सडक खुलाउन समस्या भएको छ ।

केही सडकखण्ड लामो समय बन्द भएर फेरि सञ्चालनमा ल्याइए पनि बाढी, पहिरो र कटानले फेरि अवरुद्ध हुने गरेकाले खुलाउन समस्या भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो ।

केही सडकखण्डमा भने लगातार पानी परेका कारण पहिरो झनै थपिदै गएको छ । यस्ता सडक मर्मतका लागि सम्बन्धित ठाउँमा जानसमेत पहिरो पञ्छाउनुपर्ने समस्या भएको शर्माले बताउनुभयो । सडक खुलाउनका लागि आवश्यक उपकरण लैजान पनि समस्या भएको उहाँकाे भनाइ छ । शर्माका अनुसार पानी पर्न कम नभएसम्म कतिपय सडकखण्ड खुलाउन सकिने अवस्था छैन । तर पनि सम्बन्धित सडक डिभिजन कार्यालयलाई मर्मत गरेर सञ्चालनको प्रयास भने गरिरहन आग्रह गरिएको उहाँले बताउनुभयो ।

लामो समय सडक बन्द हुँदा समस्या हुने भएकाले वैकल्पिक बाटो भएर यात्रा गर्न उहाँले सुझाव दिनुभएको छ । गएको दुई महिनायता बाढी र पहिरोका कारण बन्द भएका १९ वटा सडकखण्ड अझै सञ्चालनमा आएका छैनन् भने ७३ सडकखण्ड एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । लामो समयदेखि बन्द यी  सडकखण्ड सञ्चालनमा अझै समय लाग्न सक्ने महानिर्देशक शर्माले बताउनुभयो । 

साँफेबगर–मार्तडी सडकखण्ड बन्द भएको एक महिना भन्दा धेरै भइसकेको छ ।  । बुढीगङ्गा नदीले कटान गरेपछि र ठाउँठाउँमा पहिरो गएकाले गएको असार २६ गतेदेखि यो सडकखण्ड अवरुद्ध  भएको हो । यो सडकखण्ड खुल्न अझै कति समय लाग्छ भन्ने यकिन नभएको सडक विभागले जनाएको छ । 

पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरोला सडकखण्ड सञ्चालनमा नआएको पनि एक महिना भन्दा धेरै भइसकेको छ । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड पनि गएको असार २६ गतेदेखि नै अवरुद्ध भएको हो । यो सडकखण्डको अम्कोट–ताप्रीसेरा–घट्टेखोला लगायतका ठाउँमा पहिरो गएको छ ।

साउन ४ गतेदेखि बेनी–जोमसोम–कोरोला सडकखण्ड अन्तर्गतको नच्र्यागं–रुप्से–खहरेखोला–काइकुखोला–घासा–लेते सडकखण्ड अवरुद्ध छ । ठाउँ–ठाउँमा पहिरो जाँदा र सडक भासिँदा यी सडकखण्ड अवरुद्ध भएका हुन् । 

ठाउँ–ठाउँमा पहिरो गएपछि अवरुद्ध महाकाली राजमार्ग अन्तर्गत सतबाँझ–दार्चुला सडकखण्ड पनि सञ्चालनमा आएको छैन । साउन ६ गतेदेखि यो सडकखण्ड पनि ठप्प नै छ । यस्तै कक्रहवा-रुद्रपुर-सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकखण्ड पनि साउन १ गतेदेखि बन्द छ । विभिन्न ठाउँमा पहिरो खस्दा यो सडकखण्ड बन्द भएको हो ।

अरनीको राजमार्ग अन्तर्गत झ्याले, बुल्कोट सडकखण्ड ८ दिन देखि बन्द छ । लामो समय बन्द भएर २,४ दिन सञ्चालनमा आएको यो सडकखण्ड साउन २० गते सडक भासिएपछि फेरि बन्द भएको हो । सत्ती-भजनी -धनगढी सडकखण्ड पनि अवरुद्ध छ । यो सडकखण्डको कृष्णनगर र सोनापफाटामा बाढीले सडक बगाउँदा साउन १४ देखि बन्द भएको हो ।

सिद्धार्थ राजमार्ग अन्तरर्गत पानीमिल सडकखण्ड बन्द छ । ठाउँठाउँमा पहिरो गएकाले साउन २५ गतेदेखि यो सडकखण्ड बन्द भएको हो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया