विदेशबाट आइपुगे आधा लाख नेपाली, अब भने दैनिक ५ सयको मात्रै उद्धार

 साउन २८, २०७७ बुधबार ९:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती सुरु भयो । चार्टर्ड उडानमार्फत कुनै दिन त झण्डै १६ सय जनासम्म स्वदेश फर्किए । तर अब भने दैनिक ५ सय जनाको मात्र उद्धार हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अब सरकारले अनुमति दिएको र सम्बन्धित देशमा रहेको कुटनीतिक नियोगको सिफारिसमा दैनिक तीन सय जना र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी दैनिक दुई सय जनासम्म गरी दिनमा पाँच सय जनासम्मको स्वदेश फिर्ती हुने गरी उडान अनुमति दिएको छ । यो निर्णय कार्यान्वयनमा आएसँगै अब यसअघि जस्तो दैनिक सयौंको सङ्ख्यामा नेपालीहरु स्वदेश फर्कन पाउने छैनन् । 

गएको जेठ ३२ गतेदेखि सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान सुरु गरेको थियो । अहिलेसम्म विभिन्न चार्टर्ड उडानमार्फत ३० देशबाट ५० हजार १०७ जना नेपाली स्वदेश आइपुगेका छन् । 

यसअघि स्वदेश आइपुगेकालाई विमानस्थलमा स्वास्थ्य जाँचपछि सिधै प्रदेश अनुसारको होल्डिङ सेन्टरमा लैजाने र त्यहाँ स्वास्थ्य जाँच गरेपछि कोरोनाको शंका नलागेमा सम्बन्धित जिल्ला पठाइन्थ्यो । 

जिल्लाबाट आफ्नो पालिकाको क्वरेण्टीन वा होटल क्वरेण्टीनका साथै होम क्वरेण्टीनमा बस्न पाइथ्यो । तर अब भने सरकारले विदेशबाट घर फर्कनलेलाई काठमाण्डौमै तोकिएको स्थानमा क्वरेण्टीनमा राख्ने र सङ्क्रमण नभएको प्रमाणित गरेर मात्र घर पठाउने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा क्वरेण्टीनको व्यवस्था हुन्छ । यसको समन्वय काठमाण्डौका तीन जिल्लाले नै गर्नेछन् । 

विदेशबाट आइपुगेको पाँचदेखि सातदिनभित्र पीसीआर परीक्षण गरिनेछ । पीसीआर रिपोर्ट नेगेटिभ आएमा मात्र घर जान पाइनेछ । पोजेटिभ देखिएमा कोरोना मुक्त भएपछि मात्रै सरकारले घर पठाउनेछ ।

यसअघि स्वदेश आइपुगेकाहरुको सामान्य स्वास्थ्य जाँचमा ज्वरो, खोकी लगायत कोरोनाको लक्षण नदेखिएमा त्यसै दिन सम्बन्धित जिल्लामा पठाइन्थ्यो । 

अहिलेसम्म फर्किएका ५० हजारमध्ये ६२ जना अस्पतालमा रहेका कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ । सीसीएमसीका अनुसार विदेशबाट फर्किएकामध्ये ५ हजार ३७१ जना होम क्वरेण्टीनमा छन् भने १३ सय ५२ जना होटल क्वरेण्टीनमा रहेका छन् । ३८ हजार २२२ जना सम्बन्धित प्रदेशमा गएको सीसीएमसीले जनाएको छ । 

कुन देशबाट कति फर्किए ?

अहिलेसम्म अफगानिस्तानबाट ३३ जना, अस्ट्रेलियाबाट ९४३ जना, ओमानबाट ६३६ जना, कतारबाट ५ हजार ८४६ जना, म्यानमारबाट २६ जना, कुवेतबाट ६ हजार ३२९ जना, जापानबाट एक हजार २३ जना, थाइल्याण्डबाट ३२६ जना, दक्षिण कोरियाबाट ७२० जना, बंगलादेशबाट ८४१ जना, मलेसियाबाट  ७ हजार ६०६ जना स्वदेश आइपुगेका छन् । 

यस्तै माल्दिभ्सबाट ७०९ जना, श्रीलंकाबाट ५ जना, यूएईबाट १४ हजार ५९ जना, साउदी अरेबियाबाट ७ हजार ८१७ जना, सिंगापुरबाट २९७ जना, हङकङबाट ८९ जना, पाकिस्तानबाट ७२ जना, बहराइनबाट ९८० जना, अमेरिकाबाट ४२३ जना, बेलायतबाट २२९ जना, इजरायलबाट १२७ जना स्वदेश फर्किएका छन् । 

चीनबाट २०८ जना, टर्कीबाट ११० जना, फिलिपिन्सबाट २०१ जना, स्वीजरल्याण्डबाट १० जना, दक्षिण सुडानबाट २५० जना, सीएआरबाट ६८ जना, भारतबाट ८५ जना र इराकबाट ३९ जना स्वदेश फर्किएका सीसीएमसीले जनाएको छ । 

कुन प्रदेशका कति ?

अहिलेसम्म प्रदेश १ का १० हजार ५६२ जना, प्रदेश २ का ८ हजार ३४४ जना, वाग्मती प्रदेशका १३ हजार ७२४ जना, गण्डकी प्रदेशका ६ हजार ४१७ जना, प्रदेश ५ का ८ हजार ३४९ जना, कर्णाली प्रदेशका ११ सय ५१ जना र सुदूरपश्चिम प्रदेशका १२ सय ८४ जनास्वदेश आइपुगेका छन् । 

सरकारले यसअघि भदौ १ गतेदेखि नियमित उडान गर्ने भनेको थियो । तर कोरोनाको जोखिम बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानहरु भदौ मसान्तसम्म बन्द गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया