आन्तरिक विमानस्थल धमाधम अत्याधुनिक बन्दै, नयाँ विमानस्थल कम प्राथमिकतामा

 साउन २८, २०७७ बुधबार ९:५४:१७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पालामा काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल बनाउने र काठमाण्डौको हवाई चाप व्यवस्थापन गर्ने ठूलो योजना बनेको थियो । अधिकारी दुई पटकसम्म नागिडाँडाको जग्गा हेर्न पुग्नुभएको पनि थियो ।

उहाँले नागिडाँडामा विमानस्थल बनाएरै छाड्ने बताउनुभएको थियो । आर्थिक वर्ष २०७५/७६ सालको बजेटमा त ५० करोड रुपैयाँ नै विनियोजन भएको थियो । तर नागिडाँडामा विमानस्थल बनाउँदा सीमित स्वार्थ समूहलाई मात्रै फाइदा हुने भन्दै आलोचना भयो । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बनाएको उपसमितिले नै केहि व्यक्तिको निजी स्वार्थ पूरा गर्नको लागि नागिडाँडामा विमानस्थल बनाउन नहुने निष्कर्ष निकाल्यो । अहिले नागिडाँडामा विमानस्थल बनाउने कुरा सरकारी योजनाबाट हराएको छ । 

नागिडाँडा मात्रै होइन, पछिल्ला दुई वर्षका संघीय सरकार र नागरिक उड्डयन प्राधिकरणले नयाँ विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्ने भन्दा पनि भएका विमानस्थलको सुधार र अत्याधुनिक बनाउने काम गरिरहेका छन् । 

सरकारको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा नयाँ आन्तरिक विमानस्थल खास प्राथमिकतामा परेका छैनन् । चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमा तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउनको लागि वातवरणीय प्रभाव मूल्याङ्कन ईआईए गर्नेबाहेक नागरिक उड्डन प्राधिकरणको नीति तथा कार्यक्रम र बजेटमा अरु नयाँ  आन्तरिक विमानस्थल प्राथमिकतामा परेका छैनन् । 

आर्थिक वर्ष २०७६/०७७ मा आन्तरिक विमानस्थलतर्फ भएका सुधार

नेपालमा ५४ रहेको वटा विमानस्थल रहेकोमा ३५ वटा विमानस्थलहरुको धावनमार्ग पक्की रहेको छ । यसमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा रहेका छन् भने २२ वटा विमानस्थल सञ्चालनमा छैनन् । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार गएको आर्थिक वर्षमा आन्तरिक विमानस्थल सुधारको लागि थुप्रै काम भएका छन् । 

आन्तरिक विमानस्थलहरुको समेत गुरुयोजना तयारी गरी चरणबद्धरुपमा विकास गर्दै लैजाने नीति अनुसार चन्द्रगढी, विराटनगर, राजविराज, नेपालगंज, धनगढी, महेन्द्रनगर र रामेछाप विमानस्थलहरुको गुरुयोजना सम्पन्न भएको छ ।

नेपालगञ्ज विमानस्थलमा थप ६ वटा आन्तरिक सेवाका ठूला जहाज पार्किङ गर्न सकिने गरी एप्रोन निर्माण कार्य सम्पन्न भएको छ । दाङ्गको नारायणपुरमा पूर्व–पश्चिम धावनमार्ग हुने गरी विमानस्थल निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । चन्द्रगढी, भरतपुर र धनगढी विमानस्थलको धावनमार्ग, ट्याक्सीमार्ग र पार्किङ क्षेत्रमा थप कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि सञ्चालनमा नरहेका बैतडी र डोटी विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन धावनमार्ग, ट्याक्सीमार्ग तथा विसान क्षेत्र कालोपत्रे सम्पन्न भएको छ । ओखलढुङ्गामा खिजी चन्डेश्वरी विमानस्थलको निर्माण कार्य सम्पन्न भई परीक्षण उडान सम्पन्न भएको छ । 

राजविराज र रुम्जाटार विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको र रामेछाप विमानस्थलमा टर्मिनल भवन विस्तार गरिएको प्राधिकरणले जनाएको छ ।

फाप्लु विमानस्थलको पार्किङ क्षेत्रमा फुटपाथ बनाउने काम सम्पन्न भएको छ ।  धनगढी विमानस्थलमा जहाज धावनमार्गमा अवतरण गर्न सघाउ पुर्‍याउने सिम्पल अप्रोच लाईटीङ सिस्टम जडान भएको छ ।

चन्द्रगढी, जनकपुर, भरतपुर र धनगढी विमानस्थलमा सानो आकारको अग्नि नियन्त्रक यन्त्र मार्फत अग्नि नियन्त्रण तथा उद्दार सेवा उपलव्ध गराइएको र  जुम्ला, जोमसोम, सिमिकोट, रामेछाप र तुम्लिगंटार विमानस्थलमा अग्नि नियन्त्रण तथा उद्धार सेवा उपलव्ध गराइएको प्राधिकरणले जनाएको छ । नेपालमा उद्धार तथा अग्नि नियन्त्रण सेवा उपलब्ध भएका विमानस्थलको संख्या १७ पुगेको छ । 

जनकपुर विमानस्थलमा भूउपग्रहमा आधारित जहाज अवतरण प्रणाली कार्यान्वयन गरेर रात्रि उडान योग्य भएको छ । काठमाण्डौ, भैरहवा, नेपालगञ्ज र धनगढीमा प्रविधियुक्त एयर ट्राफिक निगरानी प्रणाली स्थापना भएको प्राधिकरणले जनाएको छ ।  फाप्लु, रामेछाप र जोमसोम विमानस्थलमा उड्डयन मौसम सूचना सेवालाई आवश्यक उपकरण सहित सुधार गर्ने कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।   

चालू आर्थिक वर्षमा आन्तरिक विमानस्थलमा सुधार हुने कार्यहरु

चालू आर्थिक वर्षको बजेटमा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थल निर्माणलाई भन्दा पनि सुधारलाई प्राथमिकतामा राखेको छ । 

ताप्लेजुङ, चन्द्रगढी, विराटनगर, रामेछाप, सुर्खेत, नेपालगंज, धनगढी, जुम्ला, राजविराज र डोटी विमानस्थल विस्तार हुने भएका छन् । यी विमानस्थलको जग्गा अधिग्रहण गर्न प्राधिकरणले ६१ करोड रुपैयाँ छुट्याएको छ । 
दाङको नारायणपुरमा नयाँ विमानस्थल निर्माणको लागि जग्गा अधिग्रहण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको छ । 

इलाम, गुल्मी, डोल्पा, मसिनेचौर, कालिकोट, बझाङ र बलेवा विमानस्थलको धावनमार्ग पक्की गर्ने कामलाई पनि प्राधिकरणले उच्च प्राथमिकतामा राखेको छ । तुम्लिङटार, राजविराज, सुर्खेत र सिमरा विमानस्थलको धावनमार्गमा कालोपत्रे फेरिने भएको छ । 

लुक्ला र सिमीकोट विमानस्थलमा एप्रोन तथा हेलिप्याड निर्माणका लागि पनि प्राधिकरणले बजेट छुट्याएको छ  । विराटनगर, रामेछाप,रारा, तुम्लिङटार, साँफेबगर, नेपालगञ्ज र सिमरा विमानस्थलमा टावर र टर्मिनल भवन निर्माण हुने प्राधिकरणले जनाएको छ । 

विराटनगर, राजविराज, थामखर्क, फाप्लु, नेपालगञ्ज, दाङ, रारा, डोटी, साफेँबगर, बलेवा, रुम्जाटार र सिमीकोट विमानस्थलमा एअर ट्राफिक कन्ट्रोल टावरमा प्रविधि जडान गर्नको लागि प्राधिकरणले ८ करोड रुपैयाँ प्राधिकरणले छुट्याएको छ । 

डोटी, साँफेबगर, राजविराज, रुकुम, जनकपुर, सिमरा, बलेवा, रारा, चन्द्रगढी, भरतपुर, विमानस्थलमा मौसमी सूचना प्रणली जडान तथा स्तरोन्नतिका लागि पनि चार करोड २६ लाख रुपैयाँ बजेट छुट्याएर नागरिक उड्डयन प्राधिकरणले काम गरिरहेको छ । 

चन्द्रगढी, जनकपुर, धनगढी, सिमरा र भरतपुर विमानस्थलमा एक्सरे मेसिन खरिद र जडान हुने भएको छ । त्यसको लागि १४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । लुक्ला विमानस्थल र नेपालगञ्जमा विद्युतीय उडान प्रणाली जडान गर्न पनि १० करोड रुपैयाँ विनियोजन भएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • krishna Bhatt

    Aug. 12, 2020, 7:08 p.m.

    बैतडी पाटन बिमान स्थल कालोपत्र भैसकेको छ अब बिमान्स्थल मा टावर को काम र अन्य बाकी काम कहिले देखी हुन्छ ?के हि जानकारि पाउन सकिन्छ कि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया