पाल्पाको तानसेनमा मनाइने भगवती जात्रामा याे वर्ष क्षमा पूजा मात्रै हुने

 साउन २८, २०७७ बुधबार १०:८:२३ | देव पचभैया
unn.prixa.net

फाइल फाेटाे

पाल्पा – पाल्पाको तानसेनमा मनाइने श्रीरणउजिरेश्वरी भगवती जात्रामा यस वर्ष क्षमा पूजा मात्रै हुने भएको छ । 

कोरोना सङ्क्रमणको जोखिमका कारण आज परेको जात्रालाई औपचारिकता मात्रै दिइने भगवती गुठी  व्यवस्थापन समितिले जनाएको छ ।

हिजो गरिने जाग्रामलाई समेत सीमीत गरिएको थियो । सरकारले जारी गरेको निर्देशनलाई पालना गर्दै नेपाली सेना, गुठियार समिति र  सरकारी प्रतिनिधिले पूजा गरेपछि आज दिउँसो १२ बजे रथलाई मन्दिर परिसरभित्र मात्रै घुमाएर जात्रा विसर्जन गरिने समितिले जनाएको छ ।

२ सय २ औं भगवतीजात्राका रुपमा मनाउन लागिएको विजयोत्सवमा यस वर्ष बलिसमेत नचढाइने भएको छ । यसअघि  जात्राको अघिल्लो दिन रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा पाठ गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूरजात्रा गर्दे रथलाई बजार परिक्रमा गराउने चलन थियो ।

अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा याे जात्रा मनाउने गरिन्छ । जात्राको अवसरमा प्रदेश ५ सरकारले  पाल्पामा आज सार्वजनिक बिदा दिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया