गाउँपालिकाकाको बजेट दुरुपयोग गरेकाे भन्दै लेखापालमाथि हातपात

 साउन २८, २०७७ बुधबार १०:२५:४२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – गाउँपालिकाको बजेट अनियमिततामा मुछिएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल र लेखा सहायक माथि हातपात भएको छ । 

केही दिन अगाडि गाउँपालिकाको बजेट आफ्नो, आफ्नो श्रीमती र भतिजाको खातामा हालेपछि विवादमा आएका लेखापाल हेमन्तप्रकाश के.सी. र लेखा सहायक सुवास के.सीलाई स्थानीय युवाले हातपात गरेका हुन् । 

सदरमुकाम मुसिकोटमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय र नेपाल बैंकबाट काम सकेर फर्कदै गर्दा त्रिवेणी गाउँपालिकाको वडा नम्बर ४ मा रहेकाे लामाखेत भन्ने ठाउँमा आफूहरुमाथि हातपात भएको लेखापाल के.सीले बताउनुभयो ।

कुटपिट गरेर त्यही गाउँपालिकाको वडा नम्बर ५ का भिमबहादुर पुन, निराजन पुन, खकेन्द्र महर लगायतका युवाहरु भागेको उहाँले बताउनुभयो । रा १ ब ८२१ नम्बरको सरकारी मोटरसाइकलमा फर्कदै गरेका लेखापाल र लेखा सहायकलाई मोटरसाइकल रोक्न लगाएर उनीहरुले कुटपिट गरेका थिए । 

मोटरसाइकलबाट झारेर उनीहरुले फलामको रड, मुक्का र लात्तिले कुटपिट गरेकाे लेखापालका आफन्तले बताएका छन् । दुवैजनालाई ज्यान लिने र घर जलाइदिने धम्की समेत आक्रमणकारीले दिएका छन् । 

आक्रमण हुदै गर्दा उनीहरुले मोटरसाइकल छोडेर भागेर ज्यान जोगाएको  बताएका छन् ।

घटनामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।  

आर्थिक वर्ष ०७६/०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ लेखापाल के.सी.ले सिम्रुतुमा रहेकाे लक्ष्मी बैंकमा आफूसहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए । 

पछि गाउँपालिकाले छानबीन गर्न थालेपछि गाउँपालिकाकै खातामा फिर्ता गरेका थिए । 

घटनाको जिल्ला प्रशासनले छानबीन गरिरहेको छ भने लेखा सहायक सुवासलाई जागिरबाट निकालिएको गाउँपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया