कोरोना महामारी : के छ परदेशीको खबर !

 साउन २८, २०७७ बुधबार १२:५८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामान्य अवस्थामा पनि घरी म्यानपावर र एजेण्टको झुटले त घरी खाडीको धुपले पिरोलिरहन्थ्यो परदेशीलाई ।

कमाउने, जमाउने र सुन्दर भविष्य सजाउने सपना साथमा र हरियो पासपोर्ट हातमा लिएर परदेश पुगेकाहरु झण्डै ६ महिनादेखि कोरोना महामारीको चपेटामा परेका छन् । कतिको जागिर गुम्यो । कतिको पासपोर्टको भिसा सकियो, त कतिको गोजी रित्तियो । घर फर्कन जहाज उडेनन् । परदेशमै बस्न काम चलेन । कतिपय त अरुकै सहयोगमा प्राण धान्न बाध्य भए ।

तर अहिले खाडीका देश र मलेसियामा लकडाउन केही खुकुलो हुँदै गएको छ । आर्थिक गतिविधि पनि विस्तारै सुरु भएको छ भने यी देशमा कार्यरत नेपाली काममा पनि फर्कन थालेका छन् । के छ त परदेशीको अहिलेको खबर ?
 

परदेशीका खबर उनीहरुकै शब्दमा :

हरि अर्जेल, साउदी अरेबिया ।

पहिले पहिले लाग्थ्यो – आज नभए पनि भोलि होला । म पनि केही गर्न सक्छु होला । तर अहिले लाग्छ, मेरो त कर्म नै खोटी रहेछ । आउन त म पनि सपना बोकेर परदेश आएको थिएँ । सपना नहुँदो हो त यहाँसम्म किन आइन्थ्यो र ?

पाँच महिना भयो यहाँ काम बिहीन भएर बसेको । बाहिर जाउँ भने कहाँ जाउँ ? भित्र बसौँ, कहिलेसम्म बसौँ ? घर आउनका लागि पनि निकै प्रयास गरेँ । साथमा सुको छैन ।

तर कोरोना महामारीले बिजोक नै भयो । यहाँ एक सुपरमार्केटमा काम गर्थें । लकडाउन अघिसम्म ठिकठाक थियो । तर अब कोरोना आयो, तर मेरो सपना र बिपना सबै गए । 

कोरोनाले लागे पनि मर्दिनँ भन्ने मलाई आत्मविश्वास छ । तर यो कोरोनाले मेरो सपना र संघर्षलाई मारिदियो । पाँच महिना भयो यहाँ काम बिहीन भएर बसेको ।

बाहिर जाउँ भने कहाँ जाउँ ? भित्र बसौँ, कहिलेसम्म बसौँ ? घर आउनका लागि पनि निकै प्रयास गरेँ । साथमा सुको छैन ।

बन्द भएको कम्पनीले मलाई टिकट दिँदैन । आफैं टिकट काटेर घर आउन सक्दिनँ । जहाँ गए पनि कर्म नै खोटो । सरकारले लकडाउन खुकुलो बनाएसँगै नियमित उडान गर्ला र घर आउन पाउँला भनेको त्यो पनि कोरोनाको जोखिम बढेसँगै आश मर्दै गयो ।

आफ्नै भाग्य धिकार्‍यो बस्यो । अरबी देशमा अरु त के छ र ? अझै पनि घर फर्कन पाउने झिनो आश छ । त्यति हो । 

प्रकाश मिश्र, कतार ।

मेरो त कतारमा एकदम बिजोग छ । काम छैन, गोजीमा दाम पनि छैन । कुनै दिन एक घण्टा कम ओभर टाइम पाएको दिन त कसरी ऋण तिर्नु भनेर झस्कने यो मन अहिले पाँच महिनादेखि काम नगरी बस्दा कस्तो भएको छ भन्ने मलाई मात्र थाहा छ ।

सुरुवाती दिनमा ठिकठिकै भए पनि पछिल्लो समय कोरोना ह्वात्तै बढ्यो । मनमा डर पनि बढ्यो । कामना गरेँ मलाई कोरोना नहोस् । तर सँगै बसेका साथीलाई भएपछि मलाई पनि सङ्क्रमण भयो ।

सङ्क्रमण भएको पुष्टि भएपछि त लाग्यो अब मेरा दिन यति नै रहेछन् भनेर झसङ्ग भएँ । हातखुट्टा काँपे । तनाब भयो । मर्छुजस्तै लाग्यो । मरौँ मरौँ लाग्यो । तर आफ्नो घर सम्झेँ । मलाई कुरेर बसिरहेका बुढा बुवाआमा सम्झेँ र आत्मबल बलियो बनाएँ । अस्पतालमा डाक्टरले भनेका सुझावलाई मनन गरेँ र कोरोनालाई जितेँ ।

तर बिडम्बना यो परदेशमा म कोरोना जितेर फर्कंदा झन् गाह्रो भयो । खानबस्नको समस्या । घर फर्कन जहाजको समस्या । अहिले पनि घर फर्कने दिन कुरिरहेको छु । मलाई जतिसक्यो छिटो नेपाल आउन मन छ । परिवारसँगै दुःख सुःखका दिन कटाउनु छ । जे होस् अब मलाई परदेशी जीवन यही टुङ्ग्याउन मन छ । तर खै जहाजमा पालो कहिले आउला ?

कपिल ज्ञवाली, गुल्मी हाल यूएई ।

यूएईमा मेरो खबर अहिलेसम्म ज्यान ठिक छ, तर मन ठिक छैन । २००९ को सेप्टेम्बर महिनामा दुबई छिरेको म, अहिले पनि विदेशमै छु । दुःखसुख, आरोह अवरोह झेल्दै परदेशमा दिनरात बिताएको पनि अहिले ११ वर्ष भयो । 

खुसी हुँदाहुँदै पनि मैले कम्पनीमा भिसा नलगाउने पत्र पठाएको छु । अझै पनि कम्पनीले आग्रह गर्दै थियो अझै एकपटक भिसा लगाउन भनेर ।

हरेक दुई वर्षमा भिसा लगाउने नियम हुँदा अहिले पनि कम्पनीले पत्र पठायो भिसा लगाउने कि नलगाउने भनेर । कमाइ पनि राम्रै छ, दुःख पनि त्यति धेरै छैन । अनि यहाँ जति पैसा नेपाल गएर कमाउने भन्ने त धेरै परको कुरा हो । जे होस् विदेश नै भए पनि म आफ्नो तलब अनि पोजिसनलाई सम्मान गर्दै खुसी नै छु ।

खुसी हुँदाहुँदै पनि मैले कम्पनीमा भिसा नलगाउने पत्र पठाएको छु । अझै पनि कम्पनीले आग्रह गर्दै थियो अझै एकपटक भिसा लगाउन भनेर ।

तलब बढाएर दिन्छु पनि भनेको छ । तर मैले निर्णय लिईसकें कि म अब मेरो देश नेपालमै फर्केर केही गर्न चाहन्छु । यो निर्णयले गर्दा म गहिरो सोचमा परेको छु । तर खै यो बेलामा नेपाल आएर के गर्छु सोच्न सकेको छैन । यो महामारीमा परदेशमा बस्न मन छैन । जे होला अब म स्वदेश नै फर्कने छु । 
उदयराज डुम्रे, नवलपरासी, हाल यूएई ।
घर फर्कन नपाउँदा परदेशमा निकै गाह्रो भएको छ । पहिले पहिले लाग्थ्यो विदेश जान पाए त के के न गरौंला । तर अहिले परदेशको दुःख भोगेपछि लाग्छ, घर जान पाए त जस्तो हुन्छ, जसरी पनि पेट भरौंला । तर मनले चाहेर जान्छु भनेर मात्र कहाँ हुन्छ र ।

यतिबेला त घर जान खनखनी आफैं पैसा तिर्छु भन्दा पनि जहाजको टिकट पाइएको छैन । कम्पनी बन्द भएको चार महिना भयो । खान र बस्न त दिएको छ कम्पनीले । तर यहाँ कम्पनीले खान र बस्न दियो भनेर मात्र पनि नहुने रहेछ ।

हामी मजदुरी गरेर आफ्नो घर परिवार चलाउन पर्छ भने हाम्रै पसिनाले छोराछोरीको पनि भविष्य निर्धारण गर्छ । तर परदेशमा कमाइ भएन । घर जान पाइन्छ कि भन्ने आशमा एउटै कोठामा थुनिंदा थुनिंदा आशै मार्न थालेको छ । बाहिर जाउँ पैसा छैन । 

बाहिर गयो भने खान मन लाग्छ, कमाइ छैन । के गर्नु ? कोठामा पनि कति बस्नु ? कोठा नै हाम्रो लागि जेल भैसक्यो । उता छोराछोरी बाबा कैले आउने भन्छन् । छोराछोरीलाई ढाँटेको पनि चार पटक भइसक्यो । यहाँ के गरेर बस्नु । न काम छ, न कमाइ ।

कम्पनीले खानसम्म त दिएको छ । नेपाल सरकारले अझै यस्तो बेवास्ता गर्ने हो भने सायद अब खान पनि नदिने अवस्था आउन सक्छ । मरुभूमिको आकासमा जहाज उड्छ, धेरै नै नराम्रो लाग्छ । आशा छ सरकारले हाम्रो कुरा सुन्ने छ र चाँडै घर जान पाइनेछ ।

प्रदीप लकन्द्री, बहराइन ।

म अहिले बहराइनमा छु । आजका दिनसम्म मेरो खबर यहाँ ठिक छ । खाडीका अरु देशमा जस्तै कोरोना महामारीले यहाँ पनि पिरोल्यो ।

सुरुका दिनमा खाडीका अरु देशमा खासै नेपाली सङ्क्रमित भएका थिएनन् । तर यहाँ बहराइनमा धेरैमा देखियो । त्यो बेलामा त खुब डर लाग्यो । तर अहिले तन र मन दुवै ठिक छ । काम नि चलिरहेको छ । कम्पनीले तलब पनि समयमा नै दिइरहेको छ ।

अन्तिम अपडेट: भदौ २५, २०७७

तपाईको प्रतिक्रिया