सभापतिकाे बहादुरीले पार्टीलाई क्षति पुर्‍यायाे : नेता पाैडेल

 साउन २८, २०७७ बुधबार १५:४१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गर्नुभएको छ । 

सभापति देउवाले विधान मिचेर पटक पटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उहाँमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गर्नुभयो । बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफू बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताउनुभएको हो । 

विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक–पटक गर्दै आयौँ तर नेपाली कांग्रेसभित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो । जस्तै हाम्रो सभापतिलाई लाग्छ कि ? विधान मैले जति मिच्न सकेँ म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्र्याटिक पार्टी नै हो कि होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो ।’ 

सभापति देउवालाई विधान मिच्ने बानी परिसकेको पौडेलले बताउनुभयो । आफू बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटक–पटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी पौडेलले गर्नुभयो । उहाँले भन्नुभयो ‘यो मिच्ने बानी पर्‍याे । हाम्रो सभापति मैले जे गरे पनि हुन्छ भन्ने सोच्नुहुन्छ । मलाई सम्झना छ यो देशमा कानुन तोड्यो भने गृह मन्त्रीले तोड्छ म गृह मन्त्री भएको हुनाले मैले हो तोड्ने कानुन भनेर बोलेर धाक लगाएर हिँड्नु हुन्थ्यो एक ताका । उहाँलाई जे बोले पनि सबैले हाँसेर लिइदिन्थे । अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । मैले हो तोड्ने, म त बहादुर नि ! भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पुर्‍यायाे । यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्‍याे, क्षति पुर्‍यायाे र घायल बनायो ।’

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी सङ्कटमा पर्न सक्छ भन्दै आफूले तीन वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौँ भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताउनुभयो । महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको बताउनुभयो । चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनै पनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘अहिले उहाँलाई धमाधम मान्छे नियुक्त गर्नुछ । मान्छे भर्ना गरेर नाम पत्रिकामा छपाएर चार वर्षसम्म उहाँको कार्यकाल सकिएपछि उहाँ कामचलाउ सभापति भइसकेपछि यो कामचलाउ कार्यसमितिले यो गर्न मिल्छ ? यो कुरा हामी भनिरहेका छौँ कि यसरी धज्जी नउडाऔँ । विधानको धज्जी नउडाऔँ । लोकतान्त्रिक मूल्य मान्यताको धज्जी नउडाऔँ । कांग्रेस लोकतन्त्रको प्रयाय जस्तो भएको नेपालमा यसको अस्तित्वलाई नै सङ्कटमा पार्ने कुरा भयो ।’

फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिले देखिनै आचारसंहिता सबैलाई लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘फागुन ७ गतेका लागि महाधिवेशनको मिति तोकेर हामी अगाडि बढिसकेका छौँ । महाधिवेशनमा प्रवेश गरिसकेका छौँ । यसलाई क्रियाशिलको अनि वडाको मात्र होइन केन्द्रीय महाधिवेशनको उद्घाटन नभइकन भन्लान फेरि यो त जाली कुरा हो नि । यस्तो गरेर पार्टीको वैधानिक मर्यादामाथि आँच पुर्‍याउन पाइन्छ ?’

पार्टीमा विधान मिचेको विषयलाई गम्भीरतापूर्वक उठाउँदै जाने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलले बताउनुभयो । अहिलेको केन्द्रीय समितिमा उहाँको नै बहुमत भएकाले त्यहाँबाट विकल्प खोज्न नसकिने भएकाले महाधिवेशनमा नै प्रमाणसहित विकल्प खोज्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो विषयलाई हामी गम्भीरतापूर्वक उठाउँदै जान्छौँ । यो विषयलाई महाधिवेशनसम्मै उहाँको मनपरी तन्त्रको, स्वेच्छाचारी तन्त्रको प्रमाण यही हो भनेर हामी भन्छौँ । त्यसकारण उहाँको विकल्प खोज्नपर्ने स्थिति जन्माइराखेको छ ।’ 

वरिष्ठ नेता पौडेलले पार्टीको सभापतिमा आफू नै हुनुपर्छ भन्ने दाबी नगरेको समेत स्पस्ट पार्नुभएकाे छ । तर पार्टीले आफूलाई न्याय गर्नुपर्ने उहाँको भनाइ छ । पार्टीभित्र सबै नेता तथा कार्यकर्ताले आफ्नो आकाङ्क्षा राख्न पाउने तर उमेरको आधारमा सबैलाई एउटै क्याटोगारीमा राखेर अन्याय गर्न नपाइने बताउनुभयो । पटक–पटक मौका पाएकाले सत्ताको दुरुपयोग गरेकाे/नगरेको हेरेर विवेक पुर्‍याएर निर्णय गर्नुपर्ने तर्क पौडेलको छ । 

उहाँले भन्नुभयो ‘हामी नै हुनुपर्छ, मै हुनुपर्छ भनेर मैले कहिले पनि भनेको छैन । तर एउटा कुरा को हो भने समाजले न्याय चाहिँ गर्नुपर्छ । पार्टीका आम साथीहरुले न्याय चाहिँ गर्नुपर्छ । पार्टीमा सबैलाई एकनास उमेरको आधारमा एउटै क्याटागोरीमा सबैलाई राख्न पाइँदैन । किनभने कसैले पार्टीमा कुनै अहित नगरेर पार्टीको हितको पक्षमा मात्रै जीवन दिएका छन् होला । कसैले पटक–पटक मौका पाउँदा दुरुपयोग गरेका होलान् सत्ताको, त्यसको विवेक त पुर्‍याउनुपर्छ नि । उमेरको भरमा मात्रै कसैलाई पन्छाउने र राख्ने भन्ने कुरा चाहिँ हुँदैन । स्वभाविक प्रक्रियाबाट नेतृत्व आउँछ ।’ 

फरक प्रसङ्गमा नेता पौडेलले सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । कांग्रेसले सुरुदेखि नै सरकारलाई भन्दै आएको र आफूले प्रधानमन्त्रीलाई भेटेर नै लिखित रुपमा सुझाव दिएको तर सरकारले तयारी नगर्दा अहिले सङ्कट देखापरेको बताउनुभयो । सरकारले आईसीयू, भेन्टिलेटर र आइसोलेशन तथा क्वरेण्टीनकाे व्यवस्था नगरि नागरिकलाई बिचल्लीको अवस्थामा पुर्‍याएकाे पौडेलको भनाइ छ । कम्युनिस्ट सरकारले कुनै पनि मानवीय समस्याको समाधान गर्न नसक्ने दाबी गर्दै उहाँले अहिलेको स्थिति कम्युनिस्टहरुको असफलताको नमुना भएको बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया