प्रणब मुखर्जीकाे स्वास्थ्य 'जटिल', छाेरीले लेखिन् भावुक सन्देश

 साउन २८, २०७७ बुधबार १६:४६:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि छोरी शर्मिष्ठा मुखर्जीले भावुक सन्देश लेख्नुभएको छ ।

शर्मिष्ठाले ट्विटरमा भगवानले आफ्नो लागि सही निर्णय गर्ने र अब जे हुन्छ त्यसलाई स्वीकार गर्न आफूलाई हिम्मत दिने लेख्नुभएको छ । शर्मिष्ठाले बुवा प्रणव मुखर्जीको स्वास्थ्य लाभको कामना गर्दै एक वर्ष पुरानो प्रसङ्गको सम्झना पनि गराउनु भएको छ ।

उहाँले ट्वीट गर्दै लेख्नुभएको छ, ‘गएको वर्ष यही समयमा प्रणव मुखर्जीलाई सर्वोच्च नागरिक सम्मान र भारत रत्न पुरस्कारबाट सम्मान गरिएको थियो, यो वर्ष उहाँ गम्भीर बिरामी हुनुहुन्छ ।’ गएको वर्षको अगस्ट ८ तारिखमा बुवा प्रणव मुखर्जी भारत रत्न पुरस्कारबाट सम्मानित हुँदा आफू निकै खुसी भएको भन्दै शर्मिष्ठाले यसपालिको अगस्ट १० तारिखमा उहाँ गम्भीर रुपमा बिरामी हुनुभएको उल्लेख गर्नुभएको छ ।

उहाँले भगवानले आफ्नो बुवाको लागि राम्रो गर्ने र आफूलाई दुःख/सुख स्वीकार गर्न सक्ने क्षमता दिने बताउनुभएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । ८४ वर्षीय मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नको लागि अस्पताल जानुभएको थियो । शल्यक्रियाअघि परीक्षण गर्दा उहाँमा कोरोना सङ्क्रमण देखिएको हो ।

उहाँ सन् २०१२ देखि सन् २०१७ सम्म भारतका राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ राष्ट्रपति हुनुअघि अर्थ मन्त्री, रक्षा मन्त्री र परराष्ट्र मन्त्रीजस्ता पदमा रहेर काम गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया