'सीमाकाे पिलर उखेलेर फालिदिने, नेपालभित्र ल्याएर गाडिदिने छिमेकीहरुकाे प्रवृत्ति छ'

 साउन २८, २०७७ बुधबार १७:३७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्री रामबहादुर थापाले छिमेकी देशहरुकाे अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपस्थित हुनु भएका गृह मन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताउनुभएको हो । सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपालभित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको उहाँले बताउनुभयो । यो प्रवृत्ति नहट्दासम्म सीमा समस्या रहिरहने पनि मन्त्री थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तन पनि यसको कारणहरु छन् । पिलरहरु उखेलेर फालिदिने अथवा नेपालभित्र ल्याएर गाड्ने यस्ता अतिक्रमणकारी नीति पनि सीमा समस्याको पछाडि एउटा कारण देखिन्छ ।’

सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने गृह मन्त्री थापाले बताउनुभयो । यस्तै नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिने समेत उहाँले बताउनुभयो । सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको थापाले बताउनुभयो । उहाँले सीमा समस्या समाधानका लागि जनस्तरबाट समेत सहयोग हुनुपर्ने बताउनुभयो ।

सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृह मन्त्री थापाको भनाइ छ । उहाँले नदीले धार परिवर्तन गर्दा सीमासमेत परिवर्तन हुने गरेको बताउनुभयो । त्यही आधारमा स्ट्रिप नक्सा बनाउँदा नेपालको भू–भाग भारतमा र भारतको भू–भाग नेपालमा परेको पनि उहाँले बताउनुभयो ।

सीमा समस्या समाधानका लागि कुटनीतिक पहल आवश्यक रहेको थापाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • Shirbir Rai

    Aug. 12, 2020, 6:25 p.m.

    यस्तो प्रविधिलाई त रोक्नु पर्यो नि मन्त्रीज्यू ...नत्र तपाइँहरु बसेको के काम ??

  •  0 Reply

तपाईको प्रतिक्रिया