काेराेना भाइरस : नेपालमा एकैदिन अहिलेसम्मकै धेरै १० जनाकाे मृत्यु पुष्टि, मृतककाे सङ्ख्या ९२ पुग्यो

 साउन २८, २०७७ बुधबार १९:५६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना सङ्क्रमणबाट नेपालमा पछिल्लाे २४ घण्टामा १० जनाको मृत्यु भएको पुष्टि छ ।

गएको सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष र मङ्गलबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ को सडकमा मृत भेटिएका बाराको विश्रामपुर ५ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९२ जना पुगेको छ । यसअघि काठमाण्डौको किस्ट अस्पतालमा उपचारको क्रममा काठमाण्डाैकाे टेकुकी ७८ वर्षीया महिला र बाराको कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाको जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा जनकपुरकै ७२ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका १४ काे धुँवाकोटका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ । यस्तै कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा कपिलवस्तु नगरपालिका २ काे तौलिहवाका ४२ वर्षीय पुरुष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङकाे बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी–८ घर भइ राजविराज ६ मा बस्ने ७२ वर्षीय पुरुषको आइसोलेशनमा लैजाने क्रममा एम्बुलेन्समै मृत्यु भएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • शिव राम काभ्रेली

    Aug. 12, 2020, 8:35 p.m.

    यदि यस्तै संक्रमण बढी रहने र मृत्यु दर पनि बढी रहने हो भने अमेरिका , इटाली, फ्रान्स, ब्राजिल अनि छिमेकी देश भारत को हालत नेपालमा पनि नआउला भन्न सकिँदैन । त्यसैले बेलैमा सोचौं सरकार केही त होला नि उपाय

  •  0 Reply

तपाईको प्रतिक्रिया