आइसाेलेशनमा शय्या अभाव, सङ्क्रमितलाई घरमा राखियाे

 साउन २८, २०७७ बुधबार २०:१६:४ | हरि हुमागाईं
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको एकमात्र आइसोलेशन वार्डमा शय्या नभएपछि कोरोना सङ्क्रमितहरुलाई घरमै राखिएको छ ।

पछिल्लो समय हेटौँडामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको आशङ्का गरिए पनि सङ्क्रमितलाई व्यवस्थितसँग राख्ने क्षमता आइसोलेशनसँग छैन ।

हेटौँडा ४ काे कर्रामा रहेकाे श्रमिक माध्यमिक विद्यालयको नयाँ भवनमा ३५ शय्याकाे आइसोलेशन निर्माण गरिएको थियो । वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको आइसोलेशन वार्डमा सङ्क्रमित राख्न शय्या अपुग भएपछि सङ्क्रमित घरमै बस्न थालेका छन् ।

मङ्गलबार १३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका थिए । उनीहरूलाई सहजसँग उपचार गर्न सक्ने क्षमता राजधानीकै आइसोलेशनसँग नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् । आइसोलेशनमा सोमबारसम्म ३४ जना कोरोना सङ्क्रमित र एक जना शङ्कास्पद बिरामी भर्ना गरी राखिएको थियो । योसँगै हेटौँडामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ ।

मङ्गलबार नै आइसोलेशनका इन्चार्ज भोला चौलागाईंले १३ जनामध्ये पाँच जना सङ्क्रमितलाई जसोतसो व्यवस्थापन गरी भर्ना गरी राखेको बताउनुभयाे । ‘आइसोलेशनको क्षमताअनुसार सङ्क्रमित भर्ना भइसकेका थिए । १३ जनालाई कहाँ राख्ने भनेर मलाई तनाव भयो । जसोतसो पाँच जनालाई मिलाएर राखेको छु’, चौलागाईंले भन्नुभयाे । उहाँका अनुसार मङ्गलबार थपिएका १३ जनामध्ये आठ जना कोरोना सङ्क्रमितलाई आ–आफ्नै घरमा राखिएको छ ।

हेटौँडा ५ का चार जना, वडा नम्बर ४ का एक जना र वडा नम्बर १० का तीन जना सङ्क्रमितलाई घरकै आइसोलेशनमा राखिएको चौलागाईंले जानकारी दिनुभयाे । ‘आइसोलेशनमा राख्नलाई बेड छैन । घरमै सुरक्षित साथ आइसोलेशनमा राख्ने व्यवस्था मिलाएका हौँ’, हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षकसमेत रहनु भएका चौलागाईंले भन्नुभयाे । घरमै बसेका सङ्क्रमित नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहने चौलागाईंले बताउनुभयाे ।

‘उहाँहरूलाई स्वास्थ्यकर्मीहरूको नियमित सम्पर्क भइरहनेछ । कुनै समस्या आउन दिँदैनौँ,’ चौलागाईं भन्नुहुन्छ । कोरोना महामारीका बीच हेटौँडाका कोरोनाङ्संक्रमित पहिलो पटक घरमै बसेका हुन् । 

अन्तिम अपडेट: चैत २३, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया