पर्यटन बोर्डको आम्दानी शून्यमा झर्न सक्ने, महामारीपछि बीबीसी र सीएनएनमा नेपालको विज्ञापन दिने योजना

 साउन २९, २०७७ बिहिबार १०:५६:३० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - कोरोना महामारी कम भएपछि सरकारले विश्वका चर्चित मिडियामा नेपालको विज्ञापन गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्षको बजेटमा नेपालमा पर्यटक तान्न बीबीसी, सीएनएन जस्ता विश्वकै ठूला र चर्चित मिडियामा नेपालको पर्यटकीय क्षेत्रको विज्ञापन गर्न लागि बजेट विनियोजन भएको छ । यसको लागि झण्डै डेढ करोड रुपैयाँ विनियोजन भएको पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य दीपक महतले जानकारी दिनुभयो ।

‘महामारी छिट्टै सकिन पनि सक्छ, लामो समय रहिरहन पनि सक्छ, यदि महामारी कम भयो र नेपाल सरकारले पर्यटक आउन दिने निर्णय गर्यो भने हामीले जतिसक्यो धेरै पर्यटक ल्याउनुपर्ने हुन्छ, त्यसको लागि विश्वका चर्चित मिडियामा नेपालको विज्ञापन दिनको लागि रकम विनियोजन भएको छ’ महतले उज्यालोसँग भन्नुभयो । 

यस्तै भारत, चीनलगायतका देशमा पनि प्रवद्र्धनात्मक कार्यक्रम पनि हुनेछन् । बजेटमार्फत पर्यटन बोर्डले आन्तरिक भ्रमणलाई पनि जोड दिने बताएको छ । नेपालमा महामारी कम भए पनि विदेशमा कम नभएको अवस्थामा देशभित्रैको घुमघामलाई प्रवद्र्धन गरेर पर्यटकीय गतिविधि चलायमान बनाउने बोर्डको योजना रहेको छ । 

‘हाम्रो देशमा महामारी कम हुनेबित्तिकै विदेशी पर्यटक ल्याउन सकिन्छ भन्ने छैन, नेपालमा आउने पर्यटकको देशमा महामारी कायमै रहेमा पनि उनीहरु आउन सक्दैनन्, त्यसैले यहाँको अवस्था हेरेर आन्तरिक पर्यटनलाई बलियो बनाउनुपर्छ भन्नेमा हाम्रो जोड छ’ महतले भन्नुभयो । 

बोर्डको बजेट ८२ करोडको, आम्दानी शून्यमा झर्न सक्ने

नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षको लागि ८२ करोड रुपैयाँको बजेट ल्याएको छ । यो रकम गएको आर्थिक वर्षको भन्दा ९४ करोड रुपैयाँ कमि हो । बोर्डले यो वर्ष दुई लाख ६ हजार पर्यटक नेपाल आउने प्रक्षेपण गरेको छ । दुई लाख ६ हजार पर्यटकबाट प्रति पर्यटक एक हजारका दरले २० करोड ६० लाख रुपैयाँ आम्दानी हुने बोर्डको अनुमान छ । 

तर नेपाल आउने पर्यटकको संख्या शून्यमा झरेपछि आम्दानी पनि शून्यमा झर्न सक्ने बोर्डले जनाएको छ । ‘हाम्रो मुख्य आम्दानी भनेको विदेश जानेहरुबाट एक हजार रुपैयाँका दरले लिने शुल्क नै हो, यो वर्ष महामारी कायमै रहे र झन बढेमा आम्दानी पनि शून्यमा झर्ने सम्भावना छ’ सञ्चालक समितिका सदस्य महतले भन्नुभयो । 

नेपाल पर्यटन बोर्डलाई सरकारले अनुदान नदिने भएकाले आम्दानी शून्यमा झरेमा थप समस्या हुनेछ ।

यस्तो छ आम्दानी र खर्चको अनुमान

पर्यटन बोर्डले यो वर्षको लागि ८२ करोड रुपैयाँको बजेट ल्याएको छ । यसमध्ये २४ करोड रुपैयाँ पर्यटकबाट उठाइने सेवा शुल्कमार्फत लिइने बोर्डले जनाएको छ । यस्तै नेपाल भ्रमण वर्षको सचिवालयले विभिन्न निकायमा भुक्तानी गर्न बाँकी ६ करोड रुपैयाँ रकमको दायित्व पनि बोर्डकै जिम्मेवारीमा आएको छ । यसको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई रकम दिएको छ । 

२२ करोड रुपैयाँ नेपाल पर्यटन बोर्डको कर्मचारी तलव भत्ता, गाडी, लगायतका अन्य सञ्चालनमा खर्च हुनेछ । यस्तै सञ्चित कोषको रकमबाट १५ करोड रुपैयाँ पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान)ले खर्च गर्नेछन् । बोर्ड र टानले १३ करोड रुपैयाँ रकम पूर्वाधार निर्माणमा खर्च हुनेछ ।  मजदुरहरुको लागि २ करोड रुपैयाँ खर्च हुनेछ । 

८२ करोड रुपैयाँमध्ये बाँकी १५ करोड रुपैयाँ महामारी सामान्य भएपछि विदेशी चर्चित मिडिया र विभिन्न देशमा प्रचारप्रसार गर्ने, विभिन्न देशमा प्रवद्र्धनात्मक कार्यक्रमको लागि खर्च हुन सक्नेछन् । यस्तै केही रकम बोर्डले आफ्नै सुधारमा खर्च गर्नेछ । 

यस अन्तर्गत पर्यटन बोर्डको वेवसाइट अत्याधुनिक बनाउनेदेखि विदेशी पर्यटकले सिधै बुक गर्न मिल्ने साइट बनाउनेसम्मका योजना रहेका छन् । पर्यटन बोर्डको आफ्नै बुकिङ साइट बनेपछि विदेशी पर्यटकले तेस्रो पक्ष हुँदै नेपालका होटल या अन्य गतिविधिको लागि बुकिङ गर्ने बाध्यता हट्नेछ । यसो गर्दा नेपाली व्यवसायीले तेस्रो पक्षलाई तिर्नुपर्ने कमिसन तिर्नुपर्ने छैन । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया