भदौ ४ गतेदेखि रिलायन्स इन्स्योरेन्सको आईपीओ खुल्ने

 साउन २९, २०७७ बिहिबार १२:५१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि इनिसियल पब्लिक अफरिङ (आईपीओ) जारी गर्ने भएको छ ।

बिहीबार भिडिओ कन्फ्रेन्समार्फत रिलायन्सले ६३ करोड रुपैयाँकाे ६३ लाख कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागेको जानकारी दिएको छ ।

६३ लाख कित्तामध्ये सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता, ३ लाख १५ हजार सामूहिक लगानी कोषहरुका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीका लागि छुट्याउने रिलायन्सले जनाएको छ । २ अर्ब १० करोड चुक्ता पूँजी रहेको रिलायन्सले ३० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । भदौ ४ देखि खुल्ने आईपीओ भदौ ८ गते छिटोमा बन्द हुने छ ।

आईपीओका लागि आवेदन दिनेहरुले न्यूनतम १० र अधिकतम ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओका लागि फारम लिने तथा बुझाउनका लागि सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । रिलायन्सले आईपीओका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

बिहीबार भएको भिडिओ कन्फ्रेन्समा रिलायन्स इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविनरमण पराजुलीले २०७४ सालको मंसिरमा स्थापना भएको कम्पनीले छोटो समयमै फड्को मार्न सफल भएको बताउनुभयो । शेयर निष्काशनको लागि गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेको भन्दै सिइओ पराजुलीले कम्पनीको उद्देश्य नाफा कमाउनु मात्रै नभई नागरिकको बचतको सुरक्षामा पनि उत्तिकै ध्यान दिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया