'काेराेना सङ्क्रमणबाट मृत्यु भएकाकाे अनुहार हेर्न पाइन्छ तर अँगालाे हाल्न र चुम्बन गर्न पाइँदैन'

 साउन २९, २०७७ बिहिबार १८:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेकाे सङ्ख्या दिनहुँ बढ्न थालेपछि सरकारले शव व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ । शव व्यवस्थापनमा सामान्य ध्यान पुर्‍याउन नसक्दा सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले सावधानी पूर्वक शव व्यवस्थापन गर्न अनुरोध गरेको हो ।

शव व्यवस्थापनका लागि निम्न सावधानी अपनाउन सकिन्छ– 

• शवको व्यवस्थापन गर्दा परम्परागत चलिएको अन्तिम संस्कार गर्ने ठाउँ र अन्त्येष्टि गर्ने ठाउँमा विशेष सावधानी अपनाउनु पर्छ ।

• शवलाई कपडाले राम्ररी बेर्नुपर्छ । सङ्क्रमणपछि मृत शरीरबाट तरल पदार्थको चुहावट रोक्न नाक, मुख र कानमा कपास राख्नुपर्छ ।

• अस्पताल, शव परीक्षण गृह, चिहान, मैदान र शव वाहन चलाउने सबै व्यक्तिले सङ्क्रमण रोकथामको विधि अपनाइ सुरक्षाका सामग्रीको प्रयोग गर्नुपर्छ ।

• अन्तिम संस्कारमा शव वाहन चालक, मलामी, आफन्त सबैले मास्क र सर्जिकल पन्जा अनिवार्य लगाउनुपर्छ ।

• शव छुने व्यक्तिले अनिवार्य पानी नछिर्ने एप्रोन, चस्मा, बुट जुत्ता, जुत्ताको खोल, पन्जा लगाउनुपर्छ ।

• मृत शरीरलाई धेरै चलाउनु हुँदैन ।

• सङ्क्रमितको मृत्यु घरमै भएको छ भने परिवारका सदस्य र अन्तिम संस्कारमा जानेले सुरक्षाका सामग्री प्रयोग गर्नुपर्छ ।

• अन्तिम संस्कारमा बच्चा र ६० वर्षमाथिका व्यक्तिलाई लैजानु हुँदैन ।

• शव वाहन र इस्टेचरलाई शव बोकेपछि अनिवार्य निर्मलीकरण गर्नुपर्छ ।

• शवको व्यवस्थापन गर्ने व्यक्तिलाई सङ्क्रमणको जोखिम हुँदैन भनेर ढुक्क बनाउनुपर्छ । जस्तै– शवले नखोक्ने भएकाले, सास नफेर्ने भएकाले हाँच्छिउँ गर्दैन । जसले गर्दा व्यवस्थापनमा रहेका व्यक्तिलाई सिधै कोरोना सर्ने जोखिम हुँदैन । तर मृत शरीरबाट तरल पदार्थ बगेको भए त्यो चलाएपछि राम्ररी साबुन पानीले मिचीमिची हात धुनुपर्छ ।

• शुभेच्छुक वा आफन्त र परिवारले मृत्य व्यक्तिलाई हेर्न चाहेमा अनुहार देखाउन सकिन्छ । तर अँगालो हाल्ने, चुम्बन गर्ने र शवलाई मुसार्ने गर्नु हुँदैन ।

• अन्त्येष्टिमा गएकाहरुले कम्तीमा पनि एक मिटरको भौतिक दुरी कायम गर्नुपर्छ ।

• अन्त्येष्टि स्थलबाट घर फर्किनुअघि अनिवार्य साबुन पानीले राम्ररी हात धुनुपर्छ । स्वास्थ्य मन्त्रालयले यदि शव व्यवस्थापनमा रोकावट भए हटलाइन नम्बर ११४० मा सम्पर्क गरी सहयोग लिन पनि अनुरोध गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण ९५ जनाको मृत्यु भएकाे छ भने २४ हजार नाै सय ५७ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया