धुलिखेल अस्पताल क्षेत्र सिल

 साउन २९, २०७७ बिहिबार १९:५:५९ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चाेक – सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । बिहीबार एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो । 

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू, जिल्लामा रहेकाे सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोस्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झालगायत स्थानीय जनप्रतिनिधि सम्मिलित बैठकले अस्पतालको आकस्मिक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गर्दै अस्पतालको पाँच सय मिटरको दुरीसम्म अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको हो । 'अस्पताल क्षेत्र सिल गरिएसँगै अस्पताल वरपर व्यवसाय गर्नेलाई आइतबारदेखि घरमै बस्न लगाइएको छ', प्रजिअ तिमल्सिनाले भन्नुभयो । 

९८ वर्षीय सङ्क्रमितको घर बजारमै रहेकाले धुलिखेल बजार बन्द गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । साथै वृद्धको वडा नम्बर ७ मा रहेकाे निवास क्षेत्रको पाँच सय मिटर वरपरसमेत बन्द गरिएको छ । ती वृद्धकी एक बुहारी, अस्पतालका एक नर्स, दमक घर भइ अस्पतालमा पित्तथैली उपचारार्थ भर्ना भएका एक बिरामी, अस्पताल छेउ व्यवसाय गर्ने एक तथा सङ्घीय प्रहरी कार्यालय बनेपाको जनागालका ६ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको डा. झाले बताउनुभयो । 

झाका अनुसार सङ्क्रमित वृद्धका परिवारका सदस्यले अस्पताललगायत समुदायका व्यक्तिसँग भेटघाट गरेको पाइएकाले ‘कन्ट्याक्ट ट्रेसिङ’ जारी छ । सङ्क्रमित व्यवसायीको घर वरपर दुई सय मिटरसमेत अर्को सूचना जारी नगरिएसम्म बन्द गरिएको जनाइएको छ । 

अहिलेसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित ६२ मध्ये २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् भने एक महिलाको मृत्यु भएको छ । साथै ३२ व्यक्ति आइसोलेशनमा उपचाररत छन् । तीमध्ये पनि २० प्रहरी, दुई स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, वैदेशिक रोजगारबाट फर्किएका २२ सर्वसाधारण र १८ कन्ट्याक्ट ट्रेसिङ र अन्य कारणबाट सङ्क्रमित भएका हुन् । 

पोस्टका अनुसार अहिले काभ्रेपलाञ्चोकका १३ पालिकामा व्यवस्थित आठ सय ४५ शय्याको क्वरेण्टीनमा ९० पुरुष र १३ महिला बसेका छन् । नौ सय चार पुरुष र एक सय ८५ महिला क्वरेण्टीनकाे बसाइपछि घर फर्किएका हुन् । अहिलेसम्म तेस्रो देशबाट चार सय २० काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोस्टले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलो पटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । 

यसैबीच काभ्रेपलाञ्चोकमा पहिलो पटक मण्डनदेउपुर नगरपालिकाका वडाध्यक्षलाई कोरोना सङ्क्रमण देखिएको छ । केन्द्र र पोस्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालक समेतलाई कानुनअनुसार दण्ड तथा जरिबाना गर्ने चेतावनी दिएका छन् । साथै जिल्लाभित्र होटल र रेस्टुरेन्टमा सामूहिक भोज, गोष्ठी वा अन्य सामूहिक भेलाजस्ता कार्य गर्न निषेध गर्ने तथा त्यस्ता गतिविधि गर्ने जो कोहीलाई कारबाही गरिने चेतावनी दिइएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया