नेकपा विवाद समाधन गर्न ६ सदस्यीय कार्यदल गठन, महासचिव पौडेल संयोजक

 साउन ३०, २०७७ शुक्रबार १४:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पार्टीभित्रको विवाद समाधानका लागि सुझाव पेस गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हाे । कार्यदलमा महासचिव पौडेलसहित नेताहरु भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहनुभएको छ ।

कार्यदलले जतिसक्दो छिटो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव विष्णु पौडेलको भनाइ छ । 

नेकपाभित्र पार्टी एकता भएपछि लामो समयदेखि नेतृत्वसम्बन्धी विवाद कायमै छ । यसअघि अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बाटो खुला गर्नुपर्ने बताउँदै आएका थिए । प्रधानमन्मत्री एवं अध्यक्ष ओलीले भने आफूले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान राख्दै आउनुभएको छ । 

पार्टीभित्रको सबै समस्याको समाधान महाधिवेशनमार्फत गर्नुपर्ने माग पनि उठ्दै आएको छ । दुई अध्यक्षबीचको छलफल सकारात्मक भइरहेको भनेर नेकपाका नेताहरुले भनिरहे पनि ठोस निष्कर्षमा भने पुग्न सकिएको छैन । 

यसअघि नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रको समस्याको तत्काल समाधानका लागि भन्दै ६ बुँदे सुझाव दिनुभएको थियो । उपाध्यक्ष गौतमको सुझावमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सकारात्मक देखिनुभएको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया