लमजुङको सुन्दरबजार नगरपालिकाका ५ वडामा निषेधाज्ञा

 साउन ३०, २०७७ शुक्रबार १४:४४:५१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिकाका ५ वटा वडामा निषेधाज्ञा जारी गरिएको छ । 

सुन्दरबजार नगरपालिका ७ का ३२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।  सुन्दरबजार नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ मा अर्काे सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिनुभयो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएका वडामा औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्नेजस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन रोक लगाइएको छ ।

एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न रोक लगाइएको छ ।

यस्तै अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न तथा तरकारी पसल, पेट्रोल पम्प, ग्याँस डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । तर खाद्यान्न तथा तरकारी पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालय बाहेक बैंक वित्तीय संस्था सहकारीसहित सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रदान हुने नियमित सेवा सञ्चालन गर्न रोक लगाइएको छ ।

धार्मिक, साँस्कृतिक सामाजिक (विवाह, व्रतबन्ध) लगायत कुनै प्रकारका जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

आदेशको पालना नगरेमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय, लमजुङले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया