विदेशबाट फर्केकाहरुलाई पुनर्स्थापना गर्न मानव अधिकार आयोगको सुझाव

 साउन ३०, २०७७ शुक्रबार १६:३३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले कोभिड १९ को विश्वव्यापी सङ्क्रमणको बेला वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई समाजमा पुनर्स्थापनाको लागि सरकारसँग आग्रह गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा परेको कोरोनाको प्रभाव विषयमा मानव अधिकार आयोगले गरेको अध्ययनले स्वदेश फर्किएकाहरुलाई पुनर्स्थापनाको आवश्यकता देखिएको जनाएको हो । स्वदेश फर्किएका श्रमिकहरूप्रति हुन सक्ने हेलाँ, वहिष्करण, अपहेलना, विभेद र दुर्व्यवहार जस्ता व्यवहारबाट संरक्षण गर्न समुदायस्तरसम्मका निकायहरूलाई जिम्मेवार गराउनुपर्ने आयोगको भनाइ छ ।

यस्तै आयोगले त्यस्ता ज्यादतीमा परेकाहरूको कानुनी अधिकार सुनिश्चित गर्ने र त्यसका लागि व्यापक मात्रामा सचेतनाका अभियानहरू सञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याएको छ । कतिपयको पारिवारिक आर्थिक अवस्था कमजोर हुन्छ । घरमै सेल्फ क्वरेण्टीनमा बस्न पनि समस्या हुन्छ ।

यसले गर्दा परिवारका सदस्यबीचमा पनि समस्या आउने हुन्छ । विदेशबाट फर्किएर पारिवारिक पुनर्मिलनमा चुनौती व्यहोर्नेहरूका लागि उनीहरूको इच्छा अनुसार सरकारले आवश्यक व्यवस्था र सहजीकरण गर्न आयोगले सरकारसँग आग्रह गरेको छ । यति मात्र नभएर वैदेशिक रोजगारीमा रहँदा विभिन्न मनोसामाजिक समस्यामा परेका नेपाली श्रमिकहरूलाई गन्तव्य देशमा र नेपालमा आवश्यक मनोसामाजिक परामर्शको व्यवस्था गरिनुपर्ने पनि आयोगले सुझाएको छ । कोरोना महामारीका कारण विदेशमा धेरै नेपाली श्रमिकले रोजगारी गुमाएका छन् ।

कतिले त आफू जाँदा लागेको ऋण तिर्नै नपाइ फर्किनुपरेको छ भने कतिपय अझै पनि फर्किन सकिरहेका छैनन् । कोभिड–१९ को प्रभावका कारण रोजगारी र आम्दानी गुमाएका तथा ऋणको चंगुलमा परेका त्यस्ता श्रमिक र तिनका परिवारको पहिचान गरी राहत तथा पुनर्स्थापनाका कार्यक्रम गर्न पनि आयोगले आग्रह गरेको छ ।

यस्ता राहात तथा पुनर्स्थापनाका कार्यक्रममा पीडितहरुको सहज पहुँच गराउने विषयमा पनि आयोगले जोड दिएको छ । यस्तै नेपाल फर्किएका श्रमिकहरूको सीप र दक्षताको आधारमा पुनः एकीकरणका प्रभावकारी नीति तथा कार्यक्रमहरू तर्जुमा गरी प्रदेश र संघीय सरकार एवं सम्बन्धित मन्त्रालयहरूकाबीचको समन्वयमा कार्यान्वयनमा ल्याउन पनि आयोगले सुझाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया