स्वास्थ्य मन्त्रालय भन्छ : यसैगरी सङ्क्रमित बढे आईसीयू र भेन्टिलेटर पाइँदैन

 साउन ३०, २०७७ शुक्रबार १७:४६:२ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको संख्या २५ हजार नाघेको छ । ज्यान गुमाउनेको संख्या ९९ पुगिसकेको छ । कोभिडको सङ्क्रमण बढेसँगै सङ्क्रमितले उपचार नपाउने समस्या पनि थपिदै गएको छ ।

स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्ने प्रेस बिफ्रिङमा पछिल्लो समय दोहोरिरहने कुरा एउटै छ : ‘उपचारका लागि अस्पतालमा बेड नपाउन सकिन्छ, सङ्क्रमणबाट बच्न व्यक्ति आफैँ सचेत हौँ ।’ 

स्वास्थ्य मन्त्रालयले भने जस्तै जनस्वास्थ्यविद्ले पनि अब उपचार नै नपाउने अवस्था आउन सक्नेतर्फ सचेत गराएका छन् । सङ्क्रमितको संख्या अनुसार स्वास्थ्य पूर्वाधार नहुनु नै प्रमुख समस्या बन्न सक्ने देखिएको छ ।

छैन आवश्यकताअनुसार जनशक्ति, भेन्टिलेटर र आईसीयू

साउन महिना लागेपछि सङ्क्रमितको संख्या झन् ह्वात्तै बढेको छ । गएको बुधवार एकै दिन १० जनाको ज्यान गयो । कोरोनाको गम्भीर बिरामी थप बढ्दै छन् । घना र बाक्लो बस्तीमा कोरोनाको सङ्क्रमण फैलिंदैछ । तर सङ्क्रमित धेरैले उपचार नै पाउन सकेका छैनन् । यो अवस्था अब झन् जटिल बन्ने स्वास्थ्य मन्त्रालयले नै स्वीकारेको छ । 

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर कुमार  अधिकारी  भन्नुहुन्छ – ‘हामीले सोचेभन्दा पनि अवस्था जटिल बन्दै गएको छ । यहि अनुपातमा सङ्क्रमण फैलने हो भने अब भेन्टिलेटर र आईसीयूमा उपचार पाउने सम्भावना नै हुँदैन ।’
अहिले सङ्क्रमितको संख्यासँगै सघन उपचार कक्ष आईसीयू तथा भेन्टिलेटर चाहिने बिरामीको संख्या पनि बढिरहेको उहाँले बताउनुभयो ।  

उहाँका अनुसार अहिले देशभरी दुई हजार छ सय वटा आईसीयू शैया र नौ सय वटा भेन्टिलेटर छन् । यी पनि धेरै काठमाण्डौ उपत्यका केन्द्रित छन् । आईसीयू, भेन्टिलेरसँगै सङ्क्रमितको उपचार गर्न डाक्टरसहित स्वास्थ्यकर्मीको अभाव हुने देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अबको चुनौती र सरकारको तयारी

स्वास्थ्य मन्त्रालयले अहिलेको जटिल अवस्थामा चुनौतीका बाबजुत डाक्टर र स्वास्थ्यकर्मीको परिचालनलाई व्यवस्थापन गर्ने तयारी गरेको दाबी गरेको  छ । मन्त्रालयले जोखिम कम भएका ठाउँका स्वास्थ्यकर्मीलाई सङ्क्रमण फैलिरहेको ठाउँमा ल्याएर उपचार दिने तयारी गरेको छ । 

यस्तै कोरोना महामारीमा खटाउन मन्त्रालयले तालिम पनि दिईएको जनाएको छ । तर मन्त्रलयले भने जस्तो तयारीले मात्रै अब नपुग्ने देखिन्छ । उपचारमा खटिएका केही स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण भएको छ भने अग्रपङक्तिमा खटिएका अन्यलाई पनि सङ्क्रमणको जोखिम उच्च छ  । कोरोनाको सङ्क्रमण देखिएको सुरुकै दिनमा तयारी गर्न सरकार चुकेको जनस्वास्थ्यविद् बताउँछन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनी गम्भीर लक्षण देखिन थालेलगत्तै अस्पतालको आईसोलेशन  वा भेन्टिलेटरमा जाने बिरामी बढेकाले तत्काल आईसोलेशन बढाउनु पर्नेमा जोड दिनुहुन्छ । तर, बिरामीलाई तत्काल उपचारमा पुर्याउन सरकार गम्भीर भएको देखिंदैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारी भने आवश्यकता अनुसार सरकारी र निजी दुवै अस्पतालका उपलब्ध भएसम्मका पूर्वाधार  तयार गर्ने दाबी गर्नु हुन्छ ।

बिरामीको बर्गीकरण गर्ने तयारी

सङ्क्रमणदर बढेपछि सरकारले बिरामीको बर्गीकरण गर्ने तयारी समेत गरेको छ । सामान्य बिरामीलाई स्वास्थ्य मन्त्रालयले घरमै आईसोलेशनमा बस्न आग्रह गर्दै आएको छ । जटिल समस्या देखिएकालाई मात्रै अस्पतालमा उपचार गराउने सरकारको तयारी छ । अब सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर सामान्य बिरामी घरकै आईसोलेशनमा बस्न सक्छन् ।

स्वास्थ्य परीक्षण पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण छ भने मात्र गराउनु पर्छ । नतिजा पोजेटिभ आयो तर अवस्था सामान्य छ भने घरमै आईसोलेशनमा बस्नुपर्छ ।  त्यसका लागि सङ्क्रमितहरुले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । 

घरमै कसरी बस्ने त आइसोलेशनमा ?

पर्याप्त प्रकाश आउने र हावा खेल्ने कोठालाई आईसोलेशन बनाउन सकिन्छ । 

उपचारको अवधिभरी कोठाबाट बाहिर जाने गर्नु हुँदैन । 

खानपानमा विशेष ध्यान  दिनुपर्छ भने पर्याप्त मात्रामा पोषिलो झोलिलो खानु पर्छ ।

आफूले प्रयोग गरेका भाँडा राम्ररी धोई पखाली गरी सुकाएर मात्रै पुनः प्रयोग गर्नुपर्छ ।

शौचालयल र स्नान गृह छुट्टै बनाउनुपर्छ । तर यो सम्भव नभए आफूले प्रयोग गरेपछि निर्मलीकरण गर्नु पर्छ ।

ढोका, चुकुल, टेबल लगायतका वस्तुलाई  नियमित निर्मलीकरण गर्नुपर्छ ।

हात धुने साबुन र पानीको व्यवस्था गरी बेलाबेलामा हात धोइरहनु पर्छ ।

सङ्क्रमितको हेरचाहका लागि प्रत्यक्ष हेरचाहमा खटिने व्यक्तिले मेडिकल मास्क प्रयोग  गर्नुपर्छ ।

बच्चा गर्भवती, सुत्केरी र जेष्ठ नागरिकलाई सङ्क्रमितबाट टाढा राख्नुपर्छ ।

सङ्क्रमितको दिनमा तीन पटकसम्म ज्वरो नाप्ने गर्नुपर्छ ।

परिवारका सदस्यले दिनको दुई पटक सङ्क्रमितको स्वास्थ्य अवस्थाकाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउने गर्नुपर्छ । 

यस्तै सङ्क्रमितलाई सास फोर्न गाह्राे भए, अनुहार निलो भए, छाती दुखे वा अन्य कुनै जटिल अवस्था देखिए तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क  गर्नुपर्छ ।

स्वास्थय मन्त्रालयले अहिलेकै अवस्था जसरी बिरामी बढे उपचार गर्न नसकिने भन्दै घरमै आईसोलेशनमा बस्न आग्रह गरेको छ । अहिलेकै अवस्था झैँ बिरामी बढ्दै गए सरकारले तयारी गरेको आईसोलेशन र भेन्टिलेटरले थेग्दैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारी भन्नुहुन्छ – ‘हो, यसैगरी बिरामी बढिरहे सबैलाई आईसोलेशन वा भेन्टिलेटरमा उपचार सम्भव हुँदैन । अहिले नै अधिकांश अस्पताल भरिसकेका छन् । अब कोरोना सङ्क्रमणलाई रोक्न व्यक्ति आफैँ नै सचेत हुनुपर्छ ।’

अन्तिम अपडेट: चैत १५, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • राजेन

    Aug. 14, 2020, 6:32 p.m.

    हजुर नयाँ गाडी किन्न चाहि जत्ति पनि पाइन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया