सिन्धुपाल्चोक : लिदीको पहिरोमा हराइरहेकाहरुको खोजी सुरु

 साउन ३१, २०७७ शनिबार ७:५२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदी-२ मा पहिरोमा परेर हराइरहेकाहरुको खोजी सुरु गरिएको छ।

हिजो दिनभरि खोजी गर्दा नभेटिएका २८ जनाको खोजी थालिएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

हिजो बिहान खसेको पहिरोले ३७ वटा घरमा नोक्सानी पुर्याएको र त्यसमध्ये १३ वटा घर पूरै भत्किँदा हराएकामध्ये ११ जनाको शव हिजो भेटिएको थियो । शव भेटिएकाहरुको सामूहिक अन्त्येष्टि गर्ने तयारी भएको पनि उहाँले बताउनुभयो । 

घाइते ५ जनाको भने सदरमुकाम चौतारामा उपचार भइरहेको छ । यसैबीच पहिरो प्रभावित सिन्धुपाल्चोकको लिदीमा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ । त्यहाँ राति पनि पानी परेको उहाँले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया