लिदी पहिरो अपडेट : हराइएकामध्ये दुई जनाको शव भेटियो

 साउन ३१, २०७७ शनिबार ९:५:२४ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदी-२ मा पहिरोमा परेर हराइरहेका थप दुई जनाको शव भेटिएको छ । 

अहिले उनीहरुको शव निकाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अझै पनि २६ जना हराइरहेका छन् । 

हिजो बिहान खसेको पहिरोले ३७ वटा घरमा नोक्सानी पुर्याएको र त्यसमध्ये १३ वटा घर पूरै भत्किँदा हराएकामध्ये ११ जनाको शव हिजो भेटिएको थियो । शव भेटिएकाहरुको सामूहिक अन्त्येष्टि गर्ने तयारी भएको पनि उहाँले बताउनुभयो ।

घाइते ५ जनाको भने सदरमुकाम चौतारामा उपचार भैरहेको छ । हराइरहेकाहरुको खोजीको लागि स्काभेटर लैजाने तयारी भएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । पहिरोबाट सय धुरीभन्दा धेरै परिवार विस्थापित भएका छन् । 

विस्थापित भएकाहरुले त्रिपालमुनि बसेर रात काटेका छन् । यसैबीच पहिरो प्रभावित सिन्धुपाल्चोकको लिदीमा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ । त्यहाँ राति पनि पानी परेको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया