मास्क लगाउन बानी पार्ने सूत्र

 साउन ३१, २०७७ शनिबार ९:२७:१७ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै - घरबाट बाहिर हिँड्दा मास्क बोक्न अनिवार्य भयो । मास्कले नाक, मुख ढाक्नैपर्छ भन्ने छैन । लेनिनको दाह्रीजस्तो चिउँडोमा झुण्ड्याए पनि भयो ।

टाउकोमा चश्मा भिर्नेले जस्तो निधारमाथि बाँधे पनि भयो । फूल सिउरिएझैँ कानमा सिउरिए पनि भयो । हातले चाबी हल्लाउँदै हिँडे जसरी औँलामा झुण्ड्याउँदै हिँडे पनि भयो । जे जसरी लगाए पनि भयो, तर मास्क चाहिँ हुनै पर्यो । मास्क नलगाई हिँड्दा कोरोनाको भन्दा पनि प्रहरीको डर हुन्छ । कोरोनाले भेट्ला, नभेट्ला तर प्रहरीले भेटिहाल्छ । समातिहाल्छ, जरिवाना लिइहाल्छ । 

तर मास्क लगाउने बानी नै छैन । घरबाट बाहिर हिँड्दा गोजीमा मोबाइल छुट्दैन, तर मास्क टेबुल र काँटीमै छुट्छ । प्रहरीलाई देखेपछि झसङ्ग भइन्छ, अनि जरिवाना तिर्नुपर्दा पसिना छुट्छ । मास्कको बानी कसरी पार्ने त ?

नेपालमा मार्क्सवादी कम्युनिष्टको शासन भएकाले मास्क लगाउने बानी पार्न अरु देशमा जस्तो असजिलो छैन । यसका लागि मार्क्सवादको आधारभूत ज्ञान लिएर सत्तामा पुगे जस्तै मार्क्को दर्शनलाई बुझ्नु जरुरी छ । त्यसो त धेरैले मास्कलाई माक्स नै भन्छन् । पसलमा पनि ‘यहाँ माक्स पाइन्छ’ भनेर लेखिएको हुन्छ । किन्नेले पनि ‘खै माक्स दिनुस् त’ भन्छन् । 

मास्क नलगाएको देखेपछि प्रहरीले पनि ‘खै तपाईंको माक्स’ भनेर सोध्छन् । कम्युनिष्ट सरकार भएको देशमा मास्कलाई माक्स भन्नु नौलो कुरा पनि भएन । नेपालका कम्युनिष्टमा  मार्क्सवादका बहुल रंग र रुप भेटिए जस्तै बजारमा रंगविरंगका मास्क भेटिन्छन् । अझ भनौं हिजोआज सबै मार्क्सवादीहरु सहजरुपमा मास्कवादी भएका छन् । तर पनि मास्क लगाउने बानी पार्न चाहिँ केटाकेटीलाई कट्टु लगाउने बानी पार्न जस्तै मुश्किल छ ।

मास्क लगाउने बानी पार्न मार्क्सवादी दर्शनले सघाउँछ । व्यवहारमा मार्क्सवाद नभए पनि बोल्नेबित्तिकै मार्क्सवाद छाँट्नेहरुको भनाइअनुसार मार्क्सवाद गतिशील सिद्धान्त हो । मार्क्सवाद विज्ञानका अभ्यासी भएको नाताले यो समय र परिस्थितिको गतिसँगैै सिर्जनात्मक रूपमा विकसित हुँदै आएको छ । 

मार्क्सवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त र उसको विश्वदृष्टिकोण हो । मार्क्सवादले जीवन र जगतलाई द्वन्द्वात्मक र भौतिकवादी ढंगले हेर्ने, बुझ्ने, व्याख्या गर्ने र संसारको परिवर्तनको निम्ति बाटो देखाउँछ । 

यति कुरा सुन्दा तपाईंको टाउको तात्यो होला । तातो न छारोको दिमागमै नपस्ने के कुरा गरेको भनेर रीस उठ्यो होला । मार्क्सवादी हौं भनेर मार्क्सको दर्शन छाँट्नेले त बुझेका छैनन् भने तपाईं हामीले मास्क लगाउन छाडेर आजसम्म विद्वानहरुका बुद्धिमा नपसेको मार्क्सवादी व्याख्या मास्क लगाएको मुखबाट सजिलै भित्र पस्ने कुरो भएन । तर एउटा कुरो चाहिँ के बुझिन्छ भने मार्क्सवादले समयअनुसार चल्नुपर्छ भन्छ । मास्कलाई माक्स भन्नेले समयअनुसार चल्न पनि त जान्नु पर्यो । समयअनुसार चल्नु भनेको मास्क लगाएर हिँड्नु पनि हो ।

सबैभन्दा पहिले मास्क भनेको शरीरमा लगाउने अरु कपडाजस्तै अनिवार्य बस्त्र हो भनेर बुझ्नुपर्छ । अझ नाक र मुखलाई गोप्य अंग भनेर आफैंले परिभाषित गर्न सक्यो भने मास्क लगाउने बानी पार्न सजिलो हुन्छ । यसो गर्न सजिलो पनि छ, किनकि विसर्जन गर्ने अंगलाई हाम्रो धर्म, संस्कृति र समाजले गोप्य अंग मान्दछ । 

विसर्जनको काम गोप्य हुने तर उत्सर्जनको काम गर्ने मुख र नाकचाहिँ गोप्य नहुने भन्ने कुरा हाम्रो धर्म र संस्कृतिले कल्पना गरेको थिएन । त्यसैले बोलीचालीमा उत्सर्जन गर्ने अंग र विसर्जन गर्ने अंगको उच्चारण पनि मिल्छ । तुलना गरेर हेर्ने हो भने क को अगाडि ना राख्दा उत्सर्जन गर्ने अंगको नाम बन्छ भने क को अगाडि चा राख्दा विसर्जन गर्ने अंगको नाम बन्छ । चा र ना को बीचमा फरक नै कति पो छ र ?

छोटा, पातला कपडा लगाउने मान्छेले पनि गोप्य अंग त ढाकेरै हिँड्छन्, देखाउँदैनन् । छोप्नुपर्ने लुगा घरमै बिर्सेछु भन्दैनन् । अरुथोक बिर्से पनि मान्छेले छोप्नुपर्ने अंग छोपेर हिँड्न बिर्सँदैन । बिर्सियो भने उसको दिमागको तार खुकुलो भएछ वा फुस्किएछ भनेर बुझ्नुपर्छ ।

नाक र मुखलाई पनि अब छोप्नुपर्ने अंग हो भनेर आफैंले परिभाषित गर्न सकियो भने मास्क लगाउने बानी पार्न सजिलो हुन्छ । मास्कलाई माक्स भन्ने तपाईं हामीलाई समयअनुसार चल्नुपर्छ भनेर मार्क्सवादले सिकाएको कुरा हो यो । त्यसमाथि मास्क लगाउने बानी बसाउन सक्दा यसले कोरोनालाई छेक्नेभन्दा बढी अरु फाइदा गर्छ ।

हामीमध्ये धेरैलाई मेल खाने मुख्य दुईवटा फाइदा यस्ता हुन् :

  • सबैभन्दा ठूलो कुरा मास्क लगाएपछि अनुहार चिल्लो पार्नु पर्दैन । पुरुषले दाह्रीजुँगा काट्ने र महिलाले मेकअप गर्ने झण्झट गर्नु पर्दैन । दाह्रीजुँगा र मेकअपको लागि खर्च हुने समय र पैसा बचत हुन्छ । बाहिर निस्कँदा ओठमा कुन रङ्गको लिपिस्टिक सुहाउँछ भनेर १० पटक ऐना हेर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्छ ।
  • अर्को महत्वपूर्ण फाइदा मास्क लगाएपछि अरुले झट्ट चिन्दैन । अनुहार देखाएर हिँड्नै नमिल्नेहरुलाई त सबैभन्दा धेरै फाइदा हुन्छ । उधारो र सापटी तिर्नुपर्नेहरुलाई मास्ककै कारण हाईसञ्चो भएको छ । मन्त्री र सत्तारुढ दलका नेताहरु यसबाट प्रत्यक्ष लाभान्वित भएका छन् । 

बिहे गर्ने बेहुला बेहुलीले पनि अब औंठीको सट्टा मास्क साट्ने चलन सुरु गर्नुपर्छ । जग्गेमा बेहुलाले बेहुलीलाई र बेहुलीले बेहुलालाई मास्क दिएको फोटो सामाजिक सञ्जालमा देख्न पाइन्छ । जग्गेबाट घर फर्किएपछि मास्क खोल्ने कि नखोल्ने, भौतिक दूरी कायम गर्ने कि नगर्ने त्यो वरबधुको स्वेच्छाको कुरा भयो, तर जग्गेमा बस्दा मास्कलाई औँठीको सट्टा आदान प्रदान गर्दा कोभिडले ध्वस्त पारेको अर्थतन्त्र र सुनको बढ्दो भाउ दुवैबाट सहजै मुक्ति पाइन्छ । 

घरभित्र जेसुकै गर्नुहोस्, तर बाहिर हिँड्दा मास्क लगाउनुहोस् । मास्क लगाउने बानी छैन भने मास्कलाई माक्स भनेजस्तै मार्क्सवादी सिद्धान्त बुझ्नुहोस् । नाक र मुखलाई देखाउँदा लाज हुने अंगको रुपमा व्याख्या गर्नुहोस् । देखाउँदा लाज हुने अंग छोप्ने वस्त्रको रुपमा मास्कलाई बुझ्नुहोस् । यति गर्दा पनि मास्क लगाउने बानी परेन भने थाहा पाउनोस्, तपाइँलाई कोरोनाभन्दा पनि डरलाग्दो समस्याले सताएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया