‘निःशुल्क भिसा र अनिवार्य पीसीआरको नीति अवलम्बन गरे बाह्य पर्यटन प्रवर्द्धन गर्न सकिन्छ’

 साउन ३१, २०७७ शनिबार १६:५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले ‘निःशुल्क भिसा र अनिवार्य पीसीआर’ को नीति अवलम्बन गरे बाह्य पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुभएको छ ।

विश्व नै कोरोनासँग जुधिरहेको भए पनि नेपालका पर्यटकीय गन्तव्यहरु कोरोनाबाट सुरक्षित रहेको सन्देश प्रवाह गर्दै निःशुल्क भिसा र अनिवार्य पीसीआर’ को नीति अवलम्बन गरे बाह्य पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल सुरक्षित गन्तव्य बनेको सन्देश दिन आन्तरिक पर्यटन खुला गर्नुपर्ने उहाँकाे भनाइ छ । विदेशबाट आउने व्यक्तिलाई कम्तिमा १४ दिन क्वरेण्टीनमा बस्नैपर्ने नीतिका कारण पर्यटकहरु आउन नचाहेको भन्दै उहाँले क्वरेण्टीन नभएर पीसीआरलाई अनिवार्य बनाउनुपर्ने बताउनुभयो ।

उहाँले विदेशी पर्यटकलाई आफ्नाे देशमा नै पीसीआर परीक्षण गर्ने र नेपाल आएपछि पुनः पीसीआर परीक्षण गर्ने प्रावधान राख्नुपर्ने बताउनुभयो । सात दिन भन्दा बढी बस्नेको हकमा घुम्दाघुम्दैको अवस्थामा पनि पीसीआर परीक्षण गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै उहाँले भिसा शुल्क बापतको रकमले पीसीआर परीक्षण अनिवार्य बनाउन सकेमा बाह्य पर्यटक भित्र्याउन समस्या नहुने बताउनुभयो । सरकारले पर्यटन पुनर्उत्थानका लागि छुट्याएको ५० अर्बको कोष तत्काल परिचालन गर्नुपर्ने पनि जोशीले बताउनुभयो ।

कोषलाई आवश्यक परेको समयमा परिचालन गर्न नसकिए कुनै अर्थ नहुने भन्दै १५/२० दिनभित्रमै यसको परिचालन गर्न सक्नुपर्ने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया