लिदी पहिरो अपडेट : १८ जनाको शव भेटियो

 साउन ३१, २०७७ शनिबार १९:२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिरोमा परेर हराइरहेकामध्ये १८ जनाको शव भेटिएको छ । आज थप सात जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको हो ।

उनीहरु सबैको परिचय खुलेको छ । आज जुगल गाउँपालिका २ का १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीय मेकमाई दोङ, ११ वर्षीया च्यांमा दोङ, ७ वर्षीया बिमला दोङ, ७ महिनाका कविर दोङ, ११ वर्षीया लक्ष्मी दोङ र ३० वर्षीय मानबहादुर दोङको शव भटिएको हो ।

यस्तै हिजो ३६ वर्षीया टिकामायाँ दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाँक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षिय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावालामु दोङ, ५ वर्षीय प्रिती दोङ र ५ महिनाकी तारालामु दोङको शव भेटिएको थियो ।

पहिरोमा पुरिएर आज भेटिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भैरहेको छ । ९ वर्षीय रुपबहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने आज भेटिएका दावा ग्याल्बो दोङसहित ५ जनाको चौतारा र काठमाण्डाैमा उपचार भैरहेको छ ।

यसैबीच पहिरोमा परि बाबु र आमा दुवै अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले पढाउने भएको छ । जुगल गाउँपालिका विपद व्यवस्थापन समितिको बैठकले दुवै अभिभावक गुमाएर टुहुरा बनेका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्था गरिदिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै बैठकले पहिरोमा आफन्त गुमाएका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ राहात र काजकिरियाका लागि तत्कालै प्रति मृतक उनीहरुका परिवारलाई २५ हजार उपलब्ध गराउने निर्णय पनि गरेको छ । यस्तै घरबार विहीन नागरिकको सुरक्षित र स्थायी आवास निर्माणको लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय पनि विपद व्यवस्थापन समितिले गरेको छ ।

ठूलो पानी परेसँगै जुगल गाउँपालिकाका अरु बस्ती पनि जोखिममा रहेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया