लकडाउनकाे बेला स्वदेश फर्कनेमा वाग्मती प्रदेशका धेरै, साउनमा तीन हजारले लिए श्रम स्वीकृति

 साउन ३१, २०७७ शनिबार २१:१७:४५ | रासस
unn.prixa.net

काठमाण्डाै – कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सबैभन्दा बढी वाग्मती प्रदेशका नागरिक स्वदेश फर्केका छन् । 

यही साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१ हजार ४४१ मध्ये १४ हजार २५७ बाग्मती प्रदेशका रहेका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको छ । त्यसैगरी प्रदेश नं १ का १० हजार ८८३, प्रदेश नं ५ का आठ हजार ५९८, प्रदेश नं २ का आठ हजार ५०६, गण्डकी प्रदेशका छ हजार ७०१, सुदूरपश्चिम प्रदेशका एक हजार ३१९ र कर्णाली प्रदेशका एक हजार १७७ जना स्वदेश फर्केका हुन् । 

लकडाउनकाे अवधिमा विभिन्न ३० देशबाट नेपाली स्वदेश फर्किएको तथ्याङ्क छ । संयुक्त अरब इमिरेट्स (यूएई)बाट हालसम्म सबैभन्दा बढी १४ हजार ३१४ नागरिक स्वदेश फिरेका छन् । यस्तै साउदी अरेबियाबाट सात हजार ८१७, मलेशियाबाट सात हजार ६४२, कुवेतबाट छ हजार ३२९, कतारबाट छ हजार १९१, बहराइनबाट ९८०, दक्षिण कोरियाबाट ९६७, अष्ट्रेलियाबाट ९४३, ओमानबाट ८११ र माल्दिभ्सबाट ७०९ जना स्वदेश फर्केका सीसीएमसीले जनाएको छ । 

यो तथ्याङ्क कोभिड–१९ महामारीपछि भारतबाहेक तेस्रो देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएकाको हो । कोरोना भाइरसका कारण भारतबाट फर्कनेको तथ्याङ्क यकिन छैन । सरकारले गएकाे जेठ २३ गतेदेखि चार्टर्ड उडानमार्फत विदेशमा अलपत्र परेका नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी स्वदेश फर्कन दिने निर्णय गरेको थियो । 

साउनमा तीन हजारले लिए श्रम स्वीकृति

साउन महिनायता झण्डै तीन हजारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् । यही साउन १ गतेदेखि बिहीबारसम्म १५३ महिला र दुई हजार ७५८ पुरुषसहित दुई हजार ९११ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचालले जनाएको छ ।  

याे अवधिमा सबैभन्दा बढी यूएईका लागि एक हजार ३१६ जनाले पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ । यस्तै कतार ७०२, मलेशिया ३०९, साउदी अरेबिया २४८, कुवेत ९९, जापान ५३ र बहराइनका लागि ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिएसँगै सरकारले गएकाे चैतदेखि श्रम स्वीकृति दिन बन्द गरेको थियो । सरकारले गएकाे असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया