सवारी पास बन्द भएपछि यात्रु ओसार्न सरकारी गाडी र एम्बुलेन्सको प्रयोग

 साउन ३२, २०७७ आइतबार २०:२३:१८ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा सरकारी गाडी र एम्बुलेन्स लगायतका सवारी साधनको दुरुपयोग गर्ने क्रम बढेको छ । 

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएका सबै प्रकारका सवारी पासमा रोक लगाएपछि सुदूरपश्चिममा सरकारी गाडी र एम्बुलेन्सहरुको दुरुपयोग बढेको हो ।

प्रदेशको अस्थायी राजधानी धनगढी सहितका जिल्लामा यात्रुहरुलाई ओसार्न एम्बुलेन्स र सरकारी गाडीहरुको प्रयोग हुन थालेको छ । सवारी पास वितरणमा रोक लागेपछि तीन दिनको अवधिमा यात्रुहरु ओसार्ने तीन वटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

साउन ३० गते राति प्रहरीले गेटाबाट ११ यात्रुसहित जिल्ला अस्पताल डोटीको एम्बुलेन्स समेत नियन्त्रणमा लिएको थियो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर श्रेष्ठले अहिलेसम्म यात्रु ओसार्न प्रयोग गरिएका तीनवटा एम्बुलेन्स नियन्त्रणमा लिएर सम्झाइ बुझाइ छाडिएको बताउनुभयो ।

बिरामीको बहाना बनाएर एम्बुलेन्स चालकहरुले एक ठाउँबाट अर्को ठाउँसम्म यात्रु ओसार्न थालेपछि कोरोनाको जोखिम बढेको छ । बिरामीलाई अस्पतालसम्म पुर्याएपछि एम्बुलेन्सहरुले यात्रु खोज्दै उनीहरुबाट मोटो रकम असुलेर गन्तव्यसम्म पुर्याउने गरेको आरोप लागेको छ । तर एम्बुलेन्स चालकहरु भने यो कुरा स्वीकार गर्न तयार छैनन् ।

सुदूरपश्चिम एम्बुलेन्स चालक संघका अध्यक्ष लक्ष्मण सिंहले यात्रु ओसारेको भन्ने कुरामा सत्यता नभएको दाबी गर्नुभयो । उहाँले बिरामी मात्र नभएर एम्बुलेन्समा उनीहरुका आफन्त समेत आउने जाने भएका कारण यात्रु हुन की भन्ने पर्न गएको जनाउनुभयो ।  

स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार लगायतका निकायका सरकारी गाडीहरु समेत सवारी ओसार्न प्रयोग भइरहेको आरोप लागेको छ । तर प्रहरीले भने सरकारी गाडी दुरुपयोग भएको नभेटिए पनि जाँचमा कडाइ गरेकाले त्यसो भेटिए कारवाहीको दायरामा ल्याइने जनाएको छ । 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले गृह मन्त्रालयको निर्देशन पालना गर्न अर्को आदेश नभएसम्मका लागि सवारी साधनको जाँचमा कडाइ गरिएको बताउनुभयो । एम्बुलेन्स मात्र नभएर सरकारी गाडीमाथि समेत निगरानी बढाइएकाले दुरुपयोग गरेको भेटिए कारवाहीको दायरामा ल्याउने उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया