दाङमा आजदेखि पाँच दिनसम्म रात्रिकालीन कर्फ्यु

 भदौ १, २०७७ सोमबार १८:३२:५५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा सोमबारबाट पाँच दिनका लागि रात्रीकालीन कर्फ्यु लागू हुने भएकाे छ । दाङमा काेराेना सङ्क्रमणको जोखिम उच्च रहेको मूल्यांकन गर्दै स्थानीय प्रशासनले भदौ १ गतेदेखि ५ गतेसम्मका लागि यो निषेधाज्ञा जारी गरेको हो । यो अवधिभर साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि सामाजिक जमघट तथा हिँडडुल समेत गर्न पाइने छैन ।

शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निणर्य गरेको हो । कर्फ्युको समयमा प्रेस, एम्बुलेन्स, दैनिक अत्यावश्यक उपभोग्य सामग्री ढुवानी गर्ने साधन तथा अन्य कुनै प्रयोजनका लागि पास लिएका सवारी साधन बाहेक कुनै पनि सवारी साधन चल्न पाउने छैनन् ।

कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका सबै स्थानीय पालिका प्रमुखहरुले दिएको रायसुझाव अनुसार रात्रीकालीन कर्फ्युको आदेश जारी गरिएको केन्द्रका संयोजक रिजालले बताउनु भयो।

यो अवधिमा आदेश उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने पनि सीएमसीको बैठकले निणर्य गरेको छ । ​रात्रीकालीन समयमा विभिन्न चहलपहल र भीडभाडका कारण पनि कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यो आदेश जारी गरिएको हो । पर्वका नाममा गाउँघरमा नाँचगान, भोजभतेर तथा कुनै पनि सामाजिक जमघट हुने खालका कामहरु हुने छैनन् ।

हालसम्म जिल्लामा सक्रिय सङ्क्रमितको संख्या करिब ५० को हाराहारीमा छ । यो संख्या बढेर २ सयभन्दा बढी भएमा पुनः जिल्लामा लकडाउनसँगै निषेधाज्ञा समेत जारी गर्ने तयारी सिएमसीले गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया