राइनास नगरपालिकामा भदाै १० गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द

 भदौ १, २०७७ सोमबार २१:१५:४५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको राइनास नगरपालिकामा भदौ १० गते बुधबारसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

छिमेकी पालिकाहरुमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले सोमबार राति १२ बजेदेखि आउँदो भदौ १० गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले जानकारी दिनुभयो ।

यस अवधिमा नगरक्षेत्र भित्र बाहिरी जिल्ला एवं पालिकाबाट मानिसहरुको आवत जावत तथा एम्बुलेन्स बाहेकका सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ ।

दैनिक उपभोग्य अत्यावश्यक खाद्य सामग्रीहरुको आपूर्तिका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म खुला गरिएको र नगर क्षेत्र अन्तर्गत सञ्चालित सबै बैंकिङ तथा वित्तीय संस्था, सरकारी/गैरसरकारी सङ्घ संस्था बन्द रहने र भदौ १० गते राति १२ बजेसम्म कुनै पनि भेला, जमघट, मेला सबै पूर्णरुपमा बन्द गरिएको पनि उहाँले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिका अन्तर्गतका निर्माणाधीन प्रशासकीय भवन, मध्यपहाडी लोकमार्ग निर्माण, धमिलिकुवा–टिमुरे सडक निर्माण, प्रहरी भौकी भवन निर्माण कार्य, दैनिक अत्यावश्यक औषधि खाद्यान्न सामग्री ढुवानी, स्वास्थ्य संस्थाहरु भने यथावत् सञ्चालन गरिनेछ ।

अन्तिम अपडेट: चैत २८, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया