पर्सा : 'काेराेनाबाट ज्यान गुमाएकाकाे अन्त्येष्टिलाई लिएर फरक ढङ्गमा समाचार आयाे'

 भदौ २, २०७७ मंगलबार १५:८:० | केसी लामिछाने
unn.prixa.net

फाइल फाेटाे

पर्सा – वीरगञ्ज महानगरपालिकाका १३ का ५५ वर्षीय पुरुषकाे अन्त्येष्टिका विषयमा आफन्तजनले फरक रुपमा समाचार आएको भन्दै गुनासो गरेका छन् ।

मृतककाे अन्त्येष्टिमा सहभागी उहाँका सालाे जगदेवप्रसाद जयसवालले मुस्लिम समुदायले नै अन्त्येष्टि गरेको झैँ गरी समाचार आएको भन्दै उहाँले गुनासो गर्नुभएको हो । उहाँले महामारीको सङ्कटपूर्ण अवस्थामा हिन्दू–मुस्लिम मिलेर मानवतापूर्ण काम गरेको कुरालाई ओझेलमा नपार्न आग्रह गर्नुभएको छ ।

उहाँले आफनो भिनाजुको अन्त्येष्टिमा मुस्लिम समुदायका व्यक्तिले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभएको छ । 'उहाँहरुले लगाएको गुन तिर्न त सकिँदैन होला, मनदेखि उहाँहरुप्रति आभार व्यक्त गर्छु', उहाँले भन्नुभएको छ  ।

श्वासप्रश्वासमा समस्या भएर नारायणी वयोधामा उपचार हुँदै गर्दा ५५ वर्षीय पुरुषकाे गएकाे शनिबार राति ११ बजे ज्यान भएको थियो । उहाँ त्यही दिन कोरोना सङ्क्रमणमुक्त भएर वीरगञ्जकाे हेल्थ केयर अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । भोलिपल्ट उहाँको शव एम्बुलेन्समा राखेर महानगरपालिका १३ को करवोला नजिकको श्रीसिया नदी किनारको घाँटमा लगी अन्त्येष्टि गरिएको थियो ।

अन्त्येष्टि कर्ममा मृतकका दुई सालो, सालोको छोरा, छोरी ज्वाइँ र सम्धीको सहभागिता रहेको थियो । कोरोना सङ्क्रमणको भयका कारण छिमेकका मान्छेहरु अन्त्येष्टिमा सहभागी नभएको जयसवालले बताउनुभयो ।

उहाँले आफन्तज, करवोलामा रहेको मठका हिन्दू समाजका व्यक्ति, वडाध्यक्ष र मुस्लिम समाजका व्यक्तिहरु मलामी गएको बताउनुभयो । 'हिन्दू विधिअनुसार नै अन्त्येष्टि भएको हो', उहाँले भन्नुभयो, 'आवश्यक समग्रीको जोहो गर्न मुस्लिम समुदायका मित्रहरुले सहयोग गर्नुभएको हो ।'

जयसवाल आफैले किरियापुत्रीकाे केश मुण्डन गरेको बताउनुभयो । 'अलि ढिलो भयो, एम्बुलेन्स चालकले मैले काट्दा हुन्छ भने म काटिदिन्छु भन्नुभयो । हामीलाई त्यो प्रस्ताव ठिकै लाग्यो, आफन्त र अन्य हिन्दू समाजका व्यक्तिहरुले पनि हुन्छ भनेपछि ती चालकले केश मुण्डन गरिदिनु भएकाे हाे', जयसवालको भनाइ छ । 

उहाँले भन्नुभयो, 'चालकले केश मुण्डन गरेको त्यही फोटो भाइरल भयो, त्यसले सम्पूर्ण अन्त्येष्टि प्रक्रिया मुस्लिम समुदायले गरे कि भन्ने अर्थ लगाउन खोजियो त्यो सत्य होइन ।' 

सङ्कटको बेलामा त्याे मानवीय सहयोग भएकाे र त्यो आफैमा सहरानीय पक्ष भएको उहाँको भनाइ छ ।  

अन्त्येष्टिका विषयमा बिश्व हिन्दू महासङ्घका केन्द्रीय उपाध्यक्ष विजय निसाधले समेत चासो लिँदै अन्त्येष्टि हिन्दू विधिअनुसार नै भएको बताउनुभएको छ । वीरगञ्ज महानगरपालिका १३ का अध्यक्ष तुफान अन्सारीले भन्नुभयाे, 'मुस्लिम समुदायलाई हिन्दू विधिका बारेमा जानकारी हुने कुरा पनि भएन, उहाँहरुले आफ्नो विधिअनुसार अन्त्येष्टि गर्नुभएकाे हो । हामीहरुले गर्न मिल्ने काममा सहयोग मात्र गरेको हाैँ ।'

जयसवालले आफनो भिनाजुले बेलैमा उपचार नपाएर ज्यान गुमाउनु परेको गुनासो गर्नुभएको छ । 'उहाँ मधुमेह र प्रेसरको बिरामी हुनुहुन्थ्यो । उहाँले नियमित इन्सुलिन लिने गर्नुभएको थियो । कोरोना नेगेटिभ भएर डिस्चार्ज हुनैलाग्दा उहाँमा श्वासप्रश्वासकाे समस्या देखिएको थियो । तर त्यही अस्पतालले कोरोना नेगेटिभलाई राख्न मिल्दैन भन्यो । त्यसपछि कहाँ लैजाने भन्ने विषयमा अस्पतालको खोजी सुरु भयो । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल भवानीलगायतका अस्पतालमा पुगेर बिरामीको अवस्था बतायौँ, बेडको खोजी गरियो तर कुनै अस्पतालले बेड छ भनेन ।' 

अन्त्यमा प्रदेश सरकारका एक जना मन्त्रीको सहयोगमा नारायणी वयोधामा भर्ना त गरियो तर श्वासप्रश्वासमा समस्या थियो, भेन्टिलेटरमा राखेर उपचार हुन पाएन । उहाँलाई भेन्टिलेटर राखेर उपचार गर्न पाएको भए केही समय बचाउन सकिन्थ्यो कि भन्ने जयसवाललाई लागिरहन्छ ।

आफ्ना भिनाजुले कोरोनाका कारणले मात्र होइन अन्य रोगका कारणले मृत्युवरण गर्नुपरेको कुरा आझेलमा परेको र उपचार नपाएर मर्नु परिरहेको अवस्थाप्रति सरकारको ध्यान जानु पर्ने उहाँले बताउनुभयो । उहाँले उपचार नपाउने घटना अरु नेपालीले भोग्नु नपरोस् भन्ने आग्रहसमेत गर्नुभएको छ ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया