धनगढी उपमहानगरपालिकाले भन्यो, ‘क्वरेण्टीन सञ्चालन गर्न सक्दैनौँ’

 भदौ ३, २०७७ बुधबार २०:३१:२० | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिकाले क्वरेण्टीन सञ्चालन गर्न नसक्ने भन्दै बन्द गरेको छ । ५१ वटा विद्यालयमा क्वरेण्टीन सञ्चालन गर्दै आएको उपमहानगरपालिकाले विद्यालय सञ्चालनको तयारी भइरहेको जनाउँदै क्वरेण्टीन बन्द गरेको हो । 

उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अहिले सबै क्वरेण्टीन बन्द भएको जानकारी दिनुभयो । उहाँले विद्यालयमा क्वरेण्टीन सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै वैकल्पिक स्थानको खोजी भइरहेको बताउनुभयाे ।

धनगढी उपमहानगरपालिकाले क्वरेण्टीन सञ्चालन गर्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीलाई पत्र पठाएको छ । विद्यालयहरु सञ्चालन हुने भएकाले क्वरेण्टीन सञ्चालन गर्न नसकिने भन्दै उपमहानगरपालिकाले गएकाे साउन ३२ गते प्रशासनलाई पत्र पठाएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पत्र प्राप्त भएकाे बताउँदै धनगढी उपमहानगरपालिका २ को नवदुर्गा माविले समेत होल्डिङ सेन्टर हटाउन आग्रह गर्दै पत्र पठाएको बताउनुभयो  ।

‘होल्डिङ सेन्टर पनि हटाउनका लागि आग्रह गरिएको छ’, सूचना अधिकारी जोशीले भन्नुभयो, ‘जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सरकारको निर्णय कार्यान्वयन गर्नका लागि एउटा अनुगमन समिति बनाएको छ । त्याे समितिले पाँच दिनभित्र होल्डिङ सेन्टरका लागि नयाँ स्थान खोज्ने समेत निर्णय भएको छ ।’

उहाँले अन्य पालिकाले पनि विद्यालयमा क्वरेण्टीन सञ्चालन गर्न नसक्ने बताएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया