कैलालीमा निषेधाज्ञाको पहिलो दिन, सुनसान सहर

 भदौ ५, २०७७ शुक्रबार ११:०:४० | सीताराम ओझा
unn.prixa.net

कैलाली – जिल्ला प्रशासन कार्यालय कैलालीले बुधबार गरेको निर्णय अनुसार बिहिबार मध्यरातिदेखि जिल्लामा निषेधाज्ञा लागू भएको छ । १४ गतेसम्म जिल्लाभरि नै निषेधाज्ञा जारी रहनेछ । लकडाउनको उल्लङ्घन बढेपछि कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा नै जारी भएको प्रशासनले जनाएको छ ।

लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने तर निषेधाज्ञामा आदेश नै दिन पाउने भएकाले जिल्लामा निषेधाज्ञा नै जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । 

स्थानीय प्रशासन ऐनमा यो आदेशको कसैले उल्लङ्घन गर्छ भने एक महिनासम्म कैद, ५ सय रुपैयाँसम्म जरिबानाको व्यवस्था छ । सङ्क्रामक रोग नियन्त्रण ऐन अनुसार पनि एक महिना कैद र एक सय रुपैयाँ जरिबाना र बाधा विरोध गर्नेलाई ६ महिना कैद र ६ सय रुपैयाँ जरिवाना भनेको छ । दुवै ऐन अनुसार कारवाही प्रक्रिया अघि बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 

१४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन । औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्क उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् । अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्नेछ ।

अत्यावश्यक सामाग्री लगायत मालबाहक ढुवानीका सवारी साधन, भन्सारबाट जाँचपास भई आएका ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्लाभित्र प्रवेश गर्न निषेध गरिएको छ । 

जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ भने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वरेण्टीन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, बिरामी सवार सवारी सञ्चालन भने सञ्चालन गर्न पाइने छ ।

निषेधाज्ञाको बेला कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाईने छैन । आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन गर्न पनि रोक लगाइएको छ । 

यस्तै निषेधाज्ञा अवधिभर शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा, सभा, सम्मेलन, तालिम, सिनेमा हल, पार्टी प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाईने छैन ।

ठेला व्यवसाय सञ्चालन गर्न पनि रोक लगाइएको छ भने होटल रेष्टुराँ सञ्चालन गर्न नपाउने भएको छ । भर्चुअल वा विद्युतीय माध्यमबाट बैंकिङ सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराइ सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक वस्तुहरुको हकमा बिहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा मात्रै सञ्चालन गर्न पाइनेछ । तर सवारी साधन चलाएर खाद्यान्न र तरकारी खरिदका लागि जान पाईने छैन ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया