बझाङ : १० वर्षदेखि बन्द रहेकाे विमानस्थलको स्तरोन्नति अन्तिम चरणमा, 'यही महिनाभित्र परीक्षण उडान'

 भदौ ५, २०७७ शुक्रबार १३:४०:१४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – एक दशकदेखि बन्द अवस्थामा रहेको बझाङको देवल विमानस्थलको स्तराेन्नतिकाे काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको कालोपत्रेसहित वरिपरि घेरबार लगाउने काम र नाली निमार्णको काम सकिएको छ । ट्रमिनल भवन बाहेकका अन्य भौतिक संरचनाको काम सम्पन्न भएसँगै विमानस्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको हाे ।  

विमानस्थल सुरु गर्न पटक–पटक दबाब दिएपछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा विमानस्थल कालोपत्रेका लागि टेण्डर आह्वान गरेको थियो । झण्डै पाँच करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्स्ट्रक्शनले विमानस्थल स्तरोन्नतिको जिम्मा पाएको थियो । वैशाख महिनामै सम्पन्न गर्ने लक्ष्य भएको भए पनि कोभिड–१९ (कोरोना भाइरस) का कारण जारी गरिएको लकडाउनका कारण विमानस्थल निमार्णको काम प्रभावित भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदीप डङ्गोलले बताउनुभयो । 

‘६ सय ५० मिटर रनवे कालोपत्रे र वरिपरिको नालीको काम सकिएको छ । अब विमानस्थलको साइड फिलिङको काममात्र बाँकी छ । यो काम पनि भदौ भित्रै सकिने र भदौको दोस्रो साताभित्र परीक्षण उडानको तयारीसमेत भइरहेको छ’, उहाँले भन्नुभयो । 

लकडाउनका कारण परीक्षण उडान हुन नसकेको उहाँले जानकारी दिनुभयो । उड्डयन मन्त्रालयले उडानको अनुमति दिए विमान अवतरण गर्न सकिने र विमानस्थल सञ्चालनमा आउने डङ्गोलको भनाइ छ । 

१० वर्षदेखि बन्द रहेको विमानस्थल सुरु हुने भएपछि यहाँका स्थानीय खुसी भएका छन् । लामो समयपछि विमान चढ्ने बझाङवासीको सपना पूरा हुने भएको छ । 

समयमै काम सम्पन्न भइ विमानस्थल सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्तिहरूले ज्यान गुमाउन नपर्ने स्थानीय प्रविन्द्र धामीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिँउ जम्मा हुने र वर्षामा पहिरो गएर राजमार्ग बन्द हुने गरेको छ । सडक बन्द हुँदा बिरामी र घाइतेले बाटोमै ज्यान गुमाउने गरेका छन् ।’ 

विमानस्थल सञ्चालनमा नआउँदा जिल्लामा आउने पर्यटकको सङ्ख्यामा कमी आएको पर्यटन व्यवसायी किशोर खड्काको भनाइ छ । 

विमानस्थल स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको भए पनि अब सरोकारवालाहरुले नियमित जहाज उडानका लागि पहल गर्नु पर्ने बझाङवासी बताउँछन् । 

विसं २०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोन्नति हुन नसक्दा जहाजले उडन भर्न सकेका थिएनन् । केही समय निगम बाहेकका निजी विमान कम्पनीले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । बझाङबाट नेपालगञ्ज जाने यात्रुको चाप घट्न थालेपछि निजी विमान कम्पनीले पनि उडान रद्द गरेका थिए । अझै पनि धनगढी–बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुई वटा ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीले बताउँदै आएका छन् । 

तत्कालीन समयमा ‘शाही नेपाल वायु सेवा निगम’ ले साप्ताहिक रूपमा उडान सुरु गरेको भए पनि २०६५ सालमा बझाङ सदरमुकाम चैनपुरसम्म सडकको सहज पहँुच भएसँगै विमानस्थलमा कुनै पनि उडान भएका छैनन् । २०६६ सालमा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया