रामेछापमा भदौ १३ सम्म निषेधाज्ञा

 भदौ ५, २०७७ शुक्रबार १५:१५:२६ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार रातिदेखि भदौ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरेको छ ।   

रामेछापमा दोस्रो पटक निषेधाज्ञा जारी गरिएकाे हाे । यसअघि चैतदेखि जेठसम्म जिल्लाभरि निषेधाज्ञा लगाइएको थियो । 

सदरमुकाम मन्थली बजारमा शुक्रबार बिहानदेखि माइकिङसहित निस्किएको प्रहरीको टोलीले नागरिकहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । प्रहरीले अति आवश्यक परेमा प्रहरीलाई सोधेर मात्र घरबााहिर निस्कन भनेको छ । 

निषेधाज्ञामा प्रहरीले अत्यावश्यक सेवा, खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दूध, तरकारी, फलफुल, विद्युत्, सूचना तथा संञ्चार र फोहोर व्यवस्थापन बाहेकका अन्य सेवामा रोक लगाएको छ । 

त्यसैगरी अनुमतिप्राप्त सवारी साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनसमेत सञ्चालनमा रोक लगाइएको रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । 

सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीहरु कार्यालयमा बोलाएर सेवा दिन आग्रह गरिएको छ । शुक्रबारदेखि रामेछापका बैंक तथा वित्तीय संस्थाहरु बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सेवा प्रवाह गर्न भनिएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया