इन्द्रजात्रामा यस वर्ष यस्तो हुने छैन

 भदौ ६, २०७७ शनिबार ६:२८:६ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

काठमाण्डाै - यो वर्ष इन्द्रजात्राको उपलक्ष्यमा जीवित देवी कुमारीसहित भैरव, गणेशको रथजात्रासहित अन्य देवदेवी नाच नहुने भएको छ। तर जात्राको मुख्य दिन क्षमा पूजा भने गरिने भएको छ।

कोरोना भाइरसका संक्रमणका कारण जात्रासँग सम्बन्धित विधि नहुने भएकाले  जात्राको मुख्य दिन इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायतका मन्दिरमा भदौ १६ गते क्षमा पूजा गर्न लागिएको हो।

एक हप्तासम्म संचालन हुने येँयाः जात्रा भनिने इन्द्रजात्राको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा उपत्यकामा प्रचलित लोककथा यसप्रकार छ।

परापूर्व कालमा स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई बसुन्धराको व्रत निम्ति पूजा सजाउन पारिजातको फूल खोज्दै काठमाण्डौ आएका हुन्छन् । काठमाण्डौको मरू टोलमा पारिजात फूल भेट्टाउँछन्। टिप्न लाग्दा उनलाई स्थानीयले चोर भनी नियन्त्रणमा लिन्छन् र  डोरीले पाता कसी बीच सडकमै जात्रा गर्छन् त्यही दिनको सम्झनामा इन्द्रजात्रा मनाइन्छ। घर नफर्किएपछि इन्द्रको खोजीमा आएकी उनकी  आमाले  पाता कसेर राखेको देखेर बन्धनबाट मुक्त गराउन छोराको बदलामा कुहिरो दिने वाचा गर्छिन् र इन्द्रलाई फर्काएर लग्छिन्।

(फोटो साैजन्य: कुमारराजा महृर्जन)

त्यसबेला उपत्यकाबासीहरू स्वर्गमा आ-आफ्ना मरेका आफन्तजन भेट्न लाइन लागेर उनीहरूको पछि लाग्छन् । पछि लागेकाहरूलाई  छल्नको लागि कुइरो फालेको र कुइरोको धमिलो वातावरणमा उनीहरूलाई  उपत्यकाबासीले भेट्टाउन सकेनन्  भन्ने गरिन्छ । इन्द्रजात्राको समयमा गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन्। त्यस्तै इन्द्रदहमा पनि मेला लाग्दछ । कुहिरोले गर्दा धानबाली समयमा पाक्छ भन्ने कथन पनि छ।   

इन्द्रजात्राको सुरुवातको रूपमा इन्द्रध्वज स्थापना गरिन्छ । पुराणअनुसार प्राचीन कालमा देवता र असुरहरु ठूलो युद्धको तयारीमा लागेका बेला देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गर्दछन् । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो भनिन्छ । देवासुर संग्राममा देवताहरूको विजय पश्चात इन्द्रध्वजाको पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोक र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा पृथ्वीलोकमा बस्न थाल्यो भन्ने कथन छ। 

इन्द्रजात्राको सुरुवात इन्द्रध्वजोत्थान गर्नको लागि काभ्रे नालाको जंगलमा रुख लिन जानेबाट सुरु हुन्छ । रुख लिनको लागि राज्यको प्रतिनिधि स्वरुप राजखड्ग , गुथि संस्थानका प्रतिनिधि , पुजारी र गुर्जुपल्टनसहित केन्द्रीय मानन्धर संघका पदाधिकारी वन प्रस्थान गर्दछन्  । इन्द्रध्वजोत्थानको लागि गरिने सम्पूर्ण कामको व्यवस्थापन केन्द्रीय मानन्धर संघले गर्ने गर्दछ । 

इन्द्रध्वजोत्थान गर्नका लागि यसवर्ष बिहिबार भदाै ४ गते बिहान ११ बजेर १५ मिनेटको वन प्रस्थानको साइत थियो भने नालाको जंगलमा रुख काट्नको लागि बिहिबार  राति ९ बजेर २५ मिनेटको  साइत जुरेको थियो । तर काठमाण्डौमा बढ्दो कोरोना सङ्क्रमणका कारण यी कामहरू भएनन् ।

यसरी रुख काटिएपछि हरेक वर्ष भाद्रशुक्ल चौथीका दिन  ढालिएको रुखलाई भोटाहिटी पुर्याउनु पर्ने परम्परा छ । काभ्रेको नाला जंगलबाट रुखलाई भक्तपुरको सल्लाघारी, थिमि, बानेश्वर हुँदै तानेर  भोटाहिटी पुर्याइने गरिन्छ । यसपाली काटिएको रुखलाई  भदौ ७ गते पुर्याउनु पर्ने पात्रोमा उल्लेख गरिएको छ।

त्यसको चाैथो दिन, भाद्र शुक्ल अष्टमीका दिन, इन्द्रध्वजा बनाउने रूख (यःसिँ) लाई नगर प्रवेश गराइछ।  नगर प्रवेश भनेर भोटाहिटीमा राखिएको रुखलाई पूजा गरेर हनुमानढोकासम्म तानेर पुर्याइने गरिन्छ । यसपाली नगर प्रवेशको साइत भदौ १० गते बुधबार बिहान १० बजेर ५५ मिनेटको साइत जुरेको छ।  यसरी हनुमानढोका पुर्याएको चाैथो दिन, आउँदो १४ आइतबार बिहान ७ बजेर ०७ मिनेटमा इन्द्रध्वजोत्थान गर्ने साइत ज्योतिषहरूले निकालेका छन्। इन्द्रध्वजोत्थानसँग सँगै इन्द्रजात्रा सुरु हुन्छ।

त्यसैदिन उपाकु वनेगु भनेर आ-आफ्नाे घरमा दलुचा भनिने झुण्डाएर राख्ने कलात्मक दीप स्थापनासहित पूजा गरेर वर्षभरि दिवंगत भएका आफन्तजनको नाममा काठमाण्डौको भित्री सहरमा रहेका देवदेवीका मूर्ति, चैत्य लगायतमा दीप राख्ने गरिन्छ । लाखे , पुलुकिसी , लगायतका देवदेवीको नाच पनि सार्वजनिक गरिन्छ।

इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ ।  पारिजातको फूल र कर्कलो पृथ्वीमा लिन आएका देवराज इन्द्रलाई मालीलाई नसोधेर टिपेकोमा चोर सावित भएर डोरीले बाँधी सवैलाई देखाएको भनी मरुटोलमा इन्द्रलाई डोरीले बाँधेर राखेको मूर्ति प्रदर्शन गरिएको लोककथन छ । 

इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ । इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिँगारेर पूजा गरिन्छ । साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ।

(फोटो साैजन्य: कुमारराजा महृर्जन)

जात्राको तेश्रो दिन, भाद्रशुक्ल चतुर्दशीका दिन भदौ १६ गते कुमारी यात्रा सुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन कुमारीसहित गणेश, भैरवको रथलाई काठमाण्डौको तल्लो टोलमा यात्रा गराउने परम्परा छ । रथहरुलाई लगन, मरुलगायतको ठाउँमा तानिन्छ।

कुमारीको रथसँगै लाखे, पुलुकिसीलगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिन्छ।

हलचोकको सवः भकु , भक्तपुरको महाकाली नाच, मजिपातको मजिपाः लाखे नाच, दशअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा किलागलको पुलुकिसी नाच नचाउने गरिन्छ। 

(फोटो साैजन्य: कुमारराजा महृर्जन)

यस्तै काठमाण्डौबाट करिब चार कोस पश्चिम पर्ने दहचोकमा रहेकाे इन्द्रदहको पनि मेला लाग्छ। साथै कुमारी घर अगाडि रहेको त्रिलोक नारायण मन्दिरमा विष्णुले लिएको दश अवतार देखाइन्छ । यो जात्रामा राष्ट्रप्रमुखको उपस्थिति जयप्रकाश मल्लको पालादेखि चलिआएको हो र कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयं रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोक कथन छ।

यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन्। यसपछि बाैमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ।

त्यस्तै त्यसको भोलिपल्ट भदौ १६ गते येँयाः भनिने इन्द्रजात्राको चौथो दिन, कुमारीसहित भैरव, गणेशको रथलाई काठमाण्डौको माथिल्लो भागमा तानेर थनेयाः मनाइछ । रथहरूलाई बसन्तपुरबाट प्याफल, यटखा, न्हयोखा, थायमदु,असन ,केलटोल , इन्द्रचोक र मखनमा तानिन्छ।

यसैगरी जात्राको अन्तिम दिन, आश्विन कृष्ण चौथीका दिन, भदौ २१ गते नानीचा यात्रा गराइन्छ । यस दिन, कुमारीको रथ महिलाहरुले तानिँदै छ। केही वर्ष अघिदेखि मात्र कुमारीको रथलाई महिलाहरुले तान्न थालेका हुन्। महिलाहरुले कुमारीसहित गणेश, कुमारको रथलाई बसन्तपुर, प्याफल, नरदेवी, किलागल, भेडासिहंबाट तानेर कुमारी घरमा नै फर्काउँछन्।

यसैदिन एक हप्ताको लागि खोलिएको श्वेत भैरवको ढोका पनि बन्द गरिन्छ भने जात्राको लागि विभिन्न ठाँउबाट आएका पुलुकिसी, लाखे लगायतका देवगण पनि पूजा थापेर आआफ्नो ठाँउमा नै फर्किन्छन्। त्यस्तै यसै दिन राष्ट्रप्रमुखले  कुमारीका हातबाट टिका थाप्ने परम्परा छ ।

साथै इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो पनि ढालिन्छ । यस वर्ष लिङ्गो ढाल्नको लागि भदौ २२ गते बिहानको ४ बजेर ६ मिनेटको साइत निस्किएको छ । इन्द्रध्वजपातनसँगै इन्द्रजात्रा सम्पन्न हुन्छ। 

समेबजी वितरणमा विशेष महत्व राख्ने इन्द्रजात्राको अवसरमा यसवर्ष कोरोनाका कारण यी सबै धार्मिक गतिविधि स्थगित गरिएका छन् । इन्द्रध्वजोत्थान, रथहरू तान्ने, लाखे नाच, पुलुकिसि नाचलगायतका देवदेवीको नाच,  इन्द्रध्वजपातन जस्ता कुनै पनि धार्मिक गतिविधि नहुने भएका छन्। 

 

अन्तिम अपडेट: भदौ २६, २०७७

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया