यूएई आएको ६ महिनामै एक नेपालीको करेन्ट लागेर ज्यान गयो

 भदौ ७, २०७७ आइतबार १२:५३:० | उमाकान्त पाण्डे

यूएई – यूएईको दुबईमा एक नेपालीको करेन्ट लागेर ज्यान गएको छ ।

दुबईमा कार्यरत रुपन्देही ११ मझुवाका ३० वर्षीय कृष्णबहादुर खड्काको काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । कामका लागि ६ महिना पहिले दुबई आउनुभएका कृष्णबहादुरको साउन २२ गते कम्पनीकै काम गर्ने क्रममा वेल्डिङ्का लागि मेशिन तयार गर्दै गर्दा करेन्ट लागेर ज्यान गएको दूतावासले जनाएको छ ।

उहाँ दुबई रशिदियामा रहेको अल वार्का स्टिल तथा आल्मुनियम कम्पनीमा वेल्डरको रुपमा कार्यरत हुनुहुन्थ्यो । कामको खोजीमा उहाँ ६ महिना पहिले आफ्नै दिदी मञ्जु खड्कासँग भिजिट भिसामा यूएई आउनुभएको थियो । काम गर्न आएका भाइको ६ महिनामै ज्यान गएपछि दिदी मञ्जु पनि विक्षिप्त हुनुभएको छ ।

कृष्णबहादुरको घरमा सुत्केरी श्रीमती छन् । ५० दिन पहिले जन्मिएकी छोरीको स्वास्थ्य अवस्था नाजुक भएकाले बुटवलको आम्दा अस्पतालमा आइसीयुमा राखेर उपचार भईरहेको छ । ‘सुकुम्बासी बस्तीमा झुपडी छ, सुत्केरी बुहारीले बिरामी नानीको के गर्लिन,’ दिदी मञ्जु भन्नुहुन्छ, ‘एउटै जहाज चढेर आएको भाइ आज यो संसारमा रहेन भनेर पत्याउन मुश्किल परिरहेका छ ।’ कृष्णबहादुरको परिवार आर्थिक अवस्था कमजोर भएकै कारण पाल्पाबाट बसाईँ सरेर बुटवलमा सुकुम्बासी बस्तीमा बसेको छ ।

कृष्णबहादुरको शव नेपालसम्म कम्पनीले पठाउने भएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर दूतावाससँगको समन्वयमा कम्पनीले शव घर पठाउन लागेको हो । आइतबार नेपाल एअरलाइन्सको जहाजमार्फत कृष्णबहादुरको शव नेपाल पठाइंदैछ ।

भिजिट भिसामा आएकाले काठमाण्डौबाट घरसम्म शव लैजान समस्या भएपछि प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले सहयोग गर्ने भएको छ ।

रुपन्देही तथा पाल्पाली सेवा समाजमार्फत कृष्णबहादुरको परिवारलाई सहयोगार्थ राहत रकम संकलन गरिरहेको छ । नेपाली समाजका महासचिव पाल्पाका वेदप्रसाद अर्याल, दुबईमै कार्यरत कैलाश अर्याल र बाबुराम सुनुवारको सकृयतामा झण्डै ५० हजार रुपैयाँ संकलन भइसकेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया