छुट्टीमा घर जाने वातावरण कहिले मिल्छ ?

 भदौ ७, २०७७ आइतबार १२:५५:५६ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

वीरबल खड्का/धनकुटा, हाल कतार ।

कोरोनाको महामारीसँगै विदेशमा रोजगारी गुमाएर महिनौंदेखि अलपत्र भएकाहरुको उद्धार हुँदैछ । यसै क्रममा कतिपय घर पुगिसके कतिपय जाने तयारीमा छन् । तर मजस्तै धेरै नेपाली साथीहरु छुट्टीमा घर जान पाइरहेका छैनन् ।

लकडाउनभन्दा पहिले छुट्टीमा घर गएकाहरु पनि अहिले काममा फर्किन सकिरहेका छैनन् । कोरोना महामारीभन्दा पहिले छुट्टीमा घर गएकाहरुलाई कतार फर्कन र कतारमा अहिले काम गरिरहेकालाई छुट्टीमा घर जान निकै कठिन भएको छ ।

पछिल्लो समयमा कतार सरकारले कतार फर्कन चाहने विदेशी श्रमिकको लागि नियम पनि जारी गरेको छ । अब कतार फर्कने हो भने करोनाको परीक्षण रिपोर्ट, हवाई टिकट र कतार सरकारले निर्धारण गरेको क्वरेण्टीन बनाएका होटलमा १४ दिन अनिवार्य बस्नुपर्ने र कतारमा गरिने कोरोना परीक्षण लगायत सम्पूर्ण खर्च पनि सबै कामदार स्वयंले नै व्यहोर्नु पर्ने नियम लागू गरेको छ । यसले राम्रो तलब भएका र उच्च पदमा काम गर्ने श्रमिकहरु भने खर्च तिरेर भए पनि आउन सक्छन् ।

तर यहाँ कार्यरत धेरै नेपालीहरु निर्माण लगायत सुरक्षा सरसफाइमा काम गर्नेहरु नै छन् । यहाँको सरकारको यो नियमले उनीहरुलाई निकै अप्ठ्यारोमा पारेको छ । यसले गर्दा न्यून आम्दानी भएका श्रमिकलाई भने कतार सरकारको काममा फर्किन पाउने नियम आकासको फल आँखा तरी मर भनेजस्तै भएको छ ।

यस्तै छुट्टीमा घर गएकाहरुले पनि कम्पनीबाट पाउनुपर्ने इन्सेन्टिभ लगायतका सुविधाहरु, सेवावापतको पाउनुपर्ने रकम पाएका छैनन् । उनीहरुले कतारमा रहेका आफ्ना साथीहरुलाई फोन गरेर कम्पनीबाट त्यो रकम बुझ्नको लागि भनिरहेका छन् । कतिपय राम्रा कम्पनीहरुले खातामा पैसा हाल्दिन्छन् पनि । तर धेरै कम्पनीहरुले भने सहजै रुपमा पैसा दिंदैनन् ।

वर्षौंसम्म काम गरेको आफ्नो पारिश्रमिक कसरी लिने होला भन्ने चिन्ताले छुट्टीमा गएका नेपाली श्रमिकलाई सताउन थालेको छ । यस्ता विषयमा नेपाल सरकारले आफ्ना दूतावासमार्फत छुट्टीमा गएका र फर्कन नसक्नेहरुका लागि आफूले काम गरेको कम्पनीबाट पाउनुपर्ने पैसा उपलब्ध गराईदिनको लागि पहल गरिदिनुपर्छ ।

कोरोनाको महामारीसँग बच्दै काम गरिरहेका नेपाली श्रमिकलाई पनि छुट्टीमा घर जाने समय मिलेको अवस्थामा पनि घर जान समस्या हुन थाल्यो । घर गइहाले पनि त्यहाँबाट फर्किन पाइने हो, होइन भन्ने चिन्ताले सताएको छ ।

कोरोनाको महामारीसँगै यो अनुभव र भोगाई वैदेशिक रोजगारीको क्रममा खाडी देश लगायत मलेसियामा काम गर्ने म जस्ता धेरै नेपालीहरुको हो । यस्तो विषयमा पनि सरकारले पहलकदमी उठाओस् । सम्बन्धित निकाय र सरोकारवालाको ध्यान जाओस् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया