कपिलवस्तुमा भदौ १५ गतेसम्म निषेधाज्ञा

 भदौ ७, २०७७ आइतबार १७:५४:५६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुमा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । 

जिल्लामा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलँदै गएकाले यसको नियन्त्रणका लागि निषेधाज्ञा एक हप्ता थप गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

भदाै १५ गते राति १२ बजे सम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा रहर नभई बाध्यता भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

निषेधाज्ञा अवधिभर बैंक तथा वित्तिय संस्थाहरु स्वास्थ्य निर्देशिका पालना गर्दै सञ्चालन गरिनेछन् । स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाएर न्यून कर्मचारीहरुबाट दैनिक बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन गरेको छ । 

तरकारी र खाद्यान्न खरिदका लागि पनि बिहान ८ बजेदेखि १० बजे सम्मको समय तोकिएको छ । निषेधाज्ञा जारी अवधिभर अति आवश्यक सेवाका पसल तथा सवारी साधन बाहेक सबै बन्द हुने जनाइएको छ । 

उद्योग तथा कलकारखाना भने स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार सुरक्षा सर्तकता अपनाएर सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

दमकल, एम्बुलेन्स, शव बाहन, दूध, खानेपानीका गाडीहरु बाहेक अन्य सवै निजी तथा भाडाका सवारी साधानहरु सञ्चालनमा पूर्ण रोक लगाइएको छ । राजमार्ग भएर गुड्ने गाडीहरु जिल्लामा नरोकिने गरी भने चल्न पाउने छन् । 

जिल्लामा अहिलेसम्म एक हजार ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना सङ्क्रमणकै कारण २ जनाको ज्यान गएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया